अस्कर अवार्ड आयोजना गर्ने 'द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेज'ले सन् २०२२ को लागि सदस्य बन्न आमन्त्रितहरूको आधिकारिक सूची सार्वजनिक गरेको छ।
एकेडेमीले ३९३ जना फिल्मकर्मीहरूलाई आमन्त्रण गरेको छ। लामो समयसम्म फिल्म क्षेत्रमा योगदान दिएका कलाकारहरूलाई एकेडेमीको सदस्यमा छनोट गरिन्छ।
भारतबाट चर्चित व्यक्तिहरुलाई एकेडेमीको सदस्य बन्न आमन्त्रित गरिएको छ। भारतबाट काजोल र सुर्यासँगै डकुमेन्ट्री तर्फबाट सुस्मित घोष र रिन्तु थोमसलाई पनि आमन्त्रण गरिएको छ।
भारतीय बजार विश्लेषक रमेश बालाले आफ्नो ट्वीटरमार्फत एकेडेमीले पहिलो पटक दक्षिण भारतीय कलाकारलाई आमन्त्रित गरेकाे उल्लेख गरेका छन्। ‘अभिनेता सुर्या प्रतिष्ठित एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्समा सामेल हुन आमन्त्रित हुने पहिलो दक्षिण भारतीय अभिनेता बन्नुभयो,' उनले लेखेका छन्।
लेखन विभागमा 'गली ब्वाइ', 'मेड इन हेभन' र 'दिल धडकने दो' लगायत अन्य फिल्ममा काम गरेकी रीमा कागतीलाई पनि प्रतिष्ठित संस्थाको सदस्य बन्न आमन्त्रण गरिएको छ।
उनीहरूले आमन्त्रणा स्वीकार गरे भने आगामी वर्षको ९५ औं एकेडेमी पुरस्कारको लागि मतदाता बन्नेछन्। तर काजोललगायत अन्य फिल्मकर्मीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।