वरुण धवन र कियारा अड्वानी अभिनित फिल्म 'जुग जुग जियो' सय करोड क्लबमा समावेश भएको छ।
भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले विश्वव्यापी रुपमा एक सय करोड भारु कमाएको हो। यो फिल्म सय करोड क्लबमा समावेश भएपछि अभिनेता वरुण धवनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्।
'हामी सय करोड पार भयौं। तपाईंहरू सबैलाई जति धन्यवाद भने पनि कम हुन्छ। सबै जुग जुग जियो...,’ उनले लेखेका छन्।
पारिवारिक ड्रामा फिल्मले राम्रो समीक्षा पाइरहेको छ। फिल्मले राम्रो समीक्षा पाए पनि दर्शकको राम्रो साथ पाउन सकेको छैन। भारतीय बक्स अफिसमा फिल्मको व्यापार दिन प्रतिदिन खस्किँदै गइरहेको छ। प्रदर्शनमा आएको ११ दिनमा फिल्मले भारतीय बक्स अफिसमा ६१ करोड ४४ लाख भारतीय रुपैयाँ कमाएको छ।
६० कराेड लगानीमा बनेकाे फिल्मले ९ करोड २८ लाख भारतीय रुपैयाँको ओपनिङ गरेको थियाे।
राज मेहताले निर्देशन गरेको फिल्ममा वरुण र कियारासँगै अनिल कपूर, नीतु कपूर, मनिष पल, वरुण सूद, प्राजक्ता कोलीलगायत कलाकारको अभिनय छ।
पछिल्लाे समय कियाराकाे एकपछि अर्काे फिल्मले सफलता हात पारिरहेकाे छ। केही समयअगाडि कियारा अड्वानी अभिनित फिल्म 'भुल भुलैया २' प्रदर्शन भएको थियो। यो फिल्मले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।