बलिउड अभिनेता शाहरूख खान आगामी फिल्मको कारण चर्चामा छन्। ‘जिरो’ असफल भएपछि ४ वर्षसम्म ठूलो पर्दामा नदेखिएका शाहरूख पछिल्लो समय एकपछि अर्काे फिल्ममा अनुबन्धित भइरहेका छन्।
केहीसमय अगाडि आगामी फिल्म ‘जवान’मा उनको लुक्स सार्वजनिक गरिएको थियो। यो फिल्ममा उनीसँगै दक्षिण भारतीय लेडी सुपरस्टार नयनतारा देखिँदैछिन्। फिल्ममा नयनतारा जोडिएपछि दर्शकबीच फिल्मलाई लिएर उत्सुकता बढेको छ। अब यस फिल्ममा दक्षिण भारतीय अभिनेता विजय सेतुपति पनि देखिने भएका छन्।
फिल्ममा राणा दग्गुबातीको अभिनय रहने चर्चा थियो तर उनी फिल्मबाट बाहिरिएका छन्। उनको ठाउँमा विजयलाई अनुबन्धित गराएको भारतीय सञ्चार माध्यम अमर उजालामा उल्लेख छ। फिल्मको लागि राणाले समय दिन नसकेपछि उनी फिल्मबाट बाहिरिएका हुन्। फिल्ममा विजय भिलेनको भूमिकामा देखिने छन्।
तमिल निर्देशक एटलीले निर्देशन गर्न लागेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण, नयनतारा, सान्या मल्होत्रा, सुनिल ग्रोवरलगायत कलाकारको अभिनय छ।
विजय पछिल्लो समय कमल हसनको फिल्म ‘विक्रम’मा देखिएका थिए।
रेड चिली प्रोडक्सन हाउसबाट बन्न लागेको फिल्मको निर्माता गौरी खान हुन्। यो फिल्म २ जुन २०२३ मा प्रदर्शन हुने बताइएको छ।
‘जवान’सँगै अभिनेता शाहरूख खान ‘पठान’मा व्यस्त छन्। यो फिल्ममा उनीसँगै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका छ।