अभिनेता राजकुमार रावले बलिउडमा नेपोटिजम अर्थात् नातावाद सधैं रहिरहने बताएका छन्।
हालै उनले 'इन्डिया टुडे'सँगको कुराकानीमा बलिउडबाट नेपोटिजम नहट्ने बताएका हुन्। ‘बलिउडमा सधैं नेपोटिजम रहिरहन्छ। तर फिल्म क्षेत्रमा आउन चाहनेहरूको लागि धेरै अवसर छ। ओटिटीमार्फत मेरो साथीहरूले पनि आफ्नो पहिचान बनाएका छन्। जयदीप अहलावतले 'पाताल लोक' र प्रतिक गान्धीले 'स्क्याम १९९२' मा निकै राम्रो काम गरेका छन्। बलिउडमा नेपोटिजम रहिरहन्छ, तर तपाईंको काम र प्रतिभा बोल्छ,' उनले भने।
‘मलाई कुनै हिट फिल्म हुने फर्मुला थाहा छैन। आफ्नो तर्फबाट राम्रो काम गर्ने हो, बाँकी भाग्यमा भर पर्छ। दक्षिण भारतीय फिल्मले किन राम्रो प्रस्तुति दिइरहेको छ भनेर सोचिरहन्छु। उनीहरू राम्रो फिल्म बनाउन कडा मेहनत गर्छन्,’ उनले थपे।
आगामी दिनमा आफू पनि राम्रो फिल्म बनाउन अग्रसर हुने बताउँदै उनले भने, ‘एक समय थियो, जब गीतको छायांकन स्वीजरल्याण्डमा हुन्थ्यो। त्यसपछि हामीले सानो सहरको कथा भन्न सुरु गर्याै। दक्षिण भारतीय फिल्मजस्तै अबको समयमा जीवनभन्दा ठूलो फिल्म बनाउन आवश्यक छ। एक अभिनेताको नाताले म यस्तै गर्नेछु। यदि मेरो फिल्मले १०० करोड कमाएन भने पनि केही फरक पर्दैन।’
राजकुमार 'हिट: द फर्स्ट केस'मा देखिँदैछन्। सैलेश कोलानुले निर्देशन गरेको फिल्ममा उनीसँगै सान्या मल्होत्राको पनि मुख्य भूमिका छ। यो फिल्म जुलाई १५ देखि प्रदर्शन हुँदैछ।
योसँगै राजकुमार 'मिस्टर एण्ड मिसेज माही', 'भीड सेकेन्ड इनिंग', 'स्वागत हे' जस्ता फिल्ममा देखिनेछन्।