बलिउड अभिनेता तथा कांग्रेसका नेता राज बब्बरलाई अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ।
२६ वर्ष पुरानो एक मुद्दामा उनलाई दुई वर्ष जेल सजाय सुनाइएको भारतीय सञ्चार माध्यम बलिउड लाइफमा उल्लेख छ।
लखनउको एमपी/एमएलए अदालतले उनलाई ८ हजार ५ सय भारतीय रुपैयाँ जरिवाना तिर्न लगाएको छ। तर अदालतले उनलाई यस मुद्दामा अन्तरिम जमानत पनि दिएको छ। अब उनी ३० दिनभित्र उच्च अदालतमा पेश हुनुपर्ने छ।
राज बब्बरले यस फैसलाविरुद्ध उच्च अदालतमा निवेदन दिने बताएका छन्।
यो १९९६ को घटना हो। उक्त समयमा मतदान अधिकारी श्रीकृष्ण राणाले समाजवादीको प्रत्याशी राज बब्बरसहित केही व्यक्तिविरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीमा राज बब्बरले आफ्नो समर्थकसँग मतदान स्थलमा छिरेर मतदान प्रक्रियामा बाधा पुर्याएको उल्लेख छ।
साथै उनले मतदान स्थलमा चुनाव अधिकारीलाई कुटपिट समेत गरेका थिए। यस घटनामा केही व्यक्ति घाइते भएका थिए। यो मुद्दा बिहीबार फैसला सुनाइएको हो।
राज बब्बर पछिल्लो समय फिल्म 'फोर्स २' मा देखिएका थिए।