सन् १९९४ की मिस युनिभर्स विजेता तथा अभिनेत्री सुस्मिता सेन यतिबेला चर्चामा छिन्। आइपिएलका पूर्वअध्यक्ष ललित मोदीसँग प्रेम सम्बन्धमा रहेको खुलासा भएसँगै उनको चर्चा चुलिएको हो।
केही दिनअगाडि ललित मोदीले आफूहरू प्रेम सम्बन्धमा रहेको बताएका थिए। त्यस्तै अभिनेत्री सुस्मिताले पनि ललित मोदीको प्रेममा रहेको स्वीकार गरेकी छन्।
अहिले सुस्मिता र ललित सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्। कतिपयले सुस्मितालाई 'गोल्ड डिगर' अर्थात् धनी केटा छानेर प्रेम सम्बन्धमा रहने आरोप लगाएका छन्।
अभिनेत्री सुस्मिताले 'गोल्ड डिगर' भन्नेलाई आफ्नो इन्स्टाग्राममार्फत जवाफ दिएकी छन्।
'मेरो अस्तित्व मलाई मन पर्छ। हाम्रो वरपरको संसार कति दुखी र दयनीय बन्दै गइरहेको छ भनेर देख्दा हृदय दुख्छ। तथाकथित बुद्धिजीवीदेखि लिएर मसँग कहिल्यै नभेटेका, नचिनेका सबैले मेरो जीवन र चरित्रको गहिरो ज्ञान र आफ्नो महान् विचार प्रस्तुत गरिरहेका छन्। 'गोल्ड डिगर'लाई नै पैसा कमाउने स्रोत बताइरहेका छन्,' उनले लेखेकी छन्।
उनले थपिन्, 'मेरो प्राथमिकतामा सुनभन्दा पनि हिरा पर्छ, र आज पनि म तिनीहरूलाई आफै किन्छु। मेरो शुभचिन्तकहरू र प्रियजन यो थाहा पाउनुहोस् कि म क्षणिक प्रकाशमा कहिल्यै बाँचिनँ। म सूर्य हुँ... मेरो अस्तित्व र विवेक पूर्ण रूपमा आफैमा केन्द्रित छ।'
सन् १९९४ मा मिस युनिभर्सको ताज पहिरिएलगत्तै बलिउड प्रवेश गरेकी सुस्मिताको फिल्मी करिअर कहिल्यै पनि खासै जमेन। उनका फिल्महरू हिट त हुन्थे तर उनले समकालीनहरूको दाँजोमा अलग्गै पहिचान बनाउन सकेकी थिइनन्।
आफ्नो लामो करिअरमा उनका यादगार सिनेमा खासै छैनन्। यसबीच पछिल्लो १० वर्ष उनी बलिउडबाट पूरै हराइन्। आफ्नो स्वास्थ्य उपचार र दुई जना छोरीको लालनपालनमै व्यस्त भएकाले करिअरबाट विश्राम लिएको उनले बताएकी छन्।
दस वर्षपछि उनले गत वर्ष डिज्ने स्टारको वेबसिरिज 'आर्या' मार्फत् कमब्याक गरेकी छन्। यो वेबसिरिजको दोस्रो संस्करण पनि रिलिज भइसकेको छ।
'आर्या' मा सुस्मिताको अभिनय यति दमदार छ, यसलाई उनको करिअरकै सबभन्दा उत्कृष्ट भनिँदै आएको छ। कति समीक्षकहरूले त यो वेबसिरिजलाई सुस्मिताको कमब्याक नभएर, बलिउडमा इन्ट्रीका रूपमा लिएका छन्।
विगतका फिल्महरूबाट खासै छाप छाड्न नसकेकी पूर्वमिस युनिभर्स सुस्मिताले २७ वर्षपछि वेबसिरिजबाट पहिलोपटक आफ्नो अभिनय क्षमता देखाएको समीक्षकहरूको भनाइ छ।
'आर्या' को पहिलो संस्करणबाट सुस्मिता सेनले थुप्रै अवार्डहरू पनि जितेकी छन्।