बलिउड अभिनेता टाइगर श्रफ र अभिनेत्री दिशा पटानीको 'ब्रेकअप' भएको बताइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार टाइगर र दिशाले ६ वर्ष लामो प्रेम सम्बन्ध टुंग्याएका हुन्।
खबरहरूका अनुसार पछिल्लो एक वर्षयता उनीहरूको सम्बन्धमा खटपट चलिरहेको थियो। अहिले आएर उनीहरूले सम्बन्ध टुंग्याएका हुन्। तर सम्बन्ध किन टुंग्याए भन्नेबारे कुनै कारण खुलेको छैन। उनीहरूले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
टाइगर श्रफका बुवा ज्याकी श्रफले भने उनीहरूको सम्बन्ध टुंगिएको विषयमा प्रतिक्रिया दिएका छन्। ज्याकीले प्रायः सार्वजनिक रूपमै दिशा र टाइगरका बारेमा कुराकानी गर्दै आएका थिए। खुलस्त रूपमा उनीहरूको प्रेमको चर्चा नगरे पनि उनीहरू मिल्ने साथी भएको र दिशा र टाइगर नजिक भएको ज्याकीले बताउँदै आएका थिए।
अहिले आफ्नो छोरा दिशाको सम्बन्ध टुटेको खबर सार्वजनिक भएसँगै उनले प्रतिक्रिया दिएका हुन्।
ज्याकीका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डिया लेख्छ, 'उनीहरू राम्रा साथी हुन्। अहिले पनि साथी छन्। उनीहरू सँगै घुमफिर गर्छन् र समय बिताउँछन्। तर म मेरो छोराको प्रेम जीवन के हुँदैछ भनेर निगरानी राख्दिनँ। र कहिल्यै गर्न चाहन्नँ। मलाई लाग्छ उनीहरू एकअर्काका राम्रा साथी हुन्। उनीहरूले यो सम्बन्धलाई कसरी लैजान्छन् भन्ने कुरा उनीहरूको अधिकारको कुरा हो।'
उनले थप भनेका छन्, 'उनीहरू एकअर्काका लागि उपयुक्त हुन् कि होइनन् भन्ने कुरा उनीहरूले निधो गर्ने हो। उनीहरूको प्रेम जीवन मेरो र मेरी श्रीमतीको जस्तै हो, अलग। दिशासँग हाम्रो सम्बन्ध राम्रो छ। टाइगर र दिशा एकअर्कासँग खुसी छन्।'
दिशा र टाइगरले खुलस्त रूपमा कहिले पनि आफूहरूको प्रेम सम्बन्ध स्वीकार गरेका छैनन्। त्यसैले अहिले सम्बन्ध टुंगिएको विषयमा पनि उनीहरूबाट कुनै प्रतिक्रिया नआएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।