अभिनेता रणवीर कपूर ४ वर्षपछि फिल्म 'शमशेरा' मार्फत बलिउडमा कमब्याक गरे। यो फिल्मले राम्रो व्यापार गर्ने फिल्मकर्मीहरूको आशा थियो। तर फिल्म रिलिज भएपछि नकारात्मक समीक्षा पायो।
यो फिल्मलाई दोस्रो 'ठग्स अफ हिन्दोस्तान'को नाम समेत दिइएको छ। आमिर खान, अमिताभ बच्चन र कट्रीना कैफजस्ता ठूला स्टार भएको फिल्म 'ठग्स अफ हिन्दोस्तान' सुपर फ्लप सावित भएको थियो। यही फिल्मको बाटोमा रणवीरको 'शमशेरा' पनि देखिएको छ।
१० करोड २५ लाख भारतीय रुपैयाँमा ओपनिङ गरेको फिल्मले एक साता नपुग्दै दिनमा २ करोड हाराहारीको व्यापार गर्न थालेको छ। यो फिल्ममा पनि रणवीरसँगै सञ्जय दत्त र वाणी कपूरजस्ता बलियो स्टार कास्ट थिए।
'शमशेरा' फ्लप भएपछि निर्देशक करण मल्होत्राले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।
'शमशेरा मेरो हो। मेरो प्यारो शमशेरा, जस्तो छौं, भव्य छौं। यो ठाउँमा माया, घृणा, प्रोत्साहन र अपमान दुवै पाइन्छ। पछिल्लो केही दिनदेखि शमशेरालाई बेवास्ता गरेकोमा माफी माग्न चाहन्छु, किनकि मानिसहरूको रिस सम्हाल्न सकिरहेको थिइनँ। यसरी बेवास्ता गर्नु मेरो कमजोरी थियो र यसको लागि मसँग कुनै बहाना छैन,' उनले लेखेका छन्।
'तर अब म यही छु। म आज गर्व र सम्मानित महसुस गरिरहेको छु किनकि शमशेरा मेरो हो। राम्रो, नराम्रो एकसाथ सामना गर्नेछु। शमशेरा परिवार, शमशेराका कलाकार बधाईको पात्र हुन्। दर्शकले हामीप्रति जुन माया, आशीर्वाद र चिन्ता व्यक्त गर्नु भएको छ, त्यो भाग्यमा लिएर आउनु पर्छ र कोही पनि हामीलाई यसबाट टाढा राख्न सक्दैनन्,' उनले भने।
'शमशेरा'ले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ। काजा नामक एक काल्पनिक सहरको शासक सुद सिंहले आदिवासी योद्धालाई समातेर यातना दिन्छ र कैदमा राख्छ। यसविरूद्ध मुख्य पात्रले विद्रोह गर्छ।
यशराज ब्यानरको निर्माण भएको फिल्ममा रणवीर र सञ्जयसँगै वाणी कपूर, आशुतोष राणा, सौरभ शुक्ला र रोनित रोयलगायत कलाकारको अभिनय छ।