आमिर खान र करीना कपूर खानको फिल्म 'लाल सिंह चड्डा' साउन २६ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्म प्रदर्शन हुनुअघि सामाजिक सञ्जालमा फिल्मलाई बहिस्कार गर्न माग भइरहेको छ।
यो फिल्म टम ह्यांक्स स्टारर हलिउड फिल्म 'फरेस्ट गम्प'को रिमेक हो। आमिरले टम ह्यांक्सको भूमिकालाई न्याय गर्न नसकेको भन्दै फिल्मलाई बहिस्कार गर्ने ट्रेन्ड चलेको हो।
अभिनेता आमिरले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै फिल्ममाथि उठेको प्रश्नको जवाफ दिएका छन्।
'म यसबाट दुखी छु। किनकी उनीहरूलाई यस्तो लागिरहेको छ कि म भारतलाई मन नपराउने व्यक्ति हुँ। उनीहरू यसलाई विश्वास गरेर बसेका छन् तर यस्तो होइन, यो गलत हो। यस्तो महसुस गरेर फिल्मलाई बहिस्कार नगर्नुहोस्। कृपया मेरो फिल्म हेर्नुहोस्,' उनले भने।
त्यस्तै अभिनेत्री करीनाले फिल्म राम्राे बनेकाे छ भने कुनै कुराले असर नगर्ने बताइन्।
'अहिले सबैसँग आफ्नो विचार राख्न विभिन्न माध्यम छ। सबैको आ-आफ्नो विचार हुन्छ तर अब यस्तो भइसक्यो कि यी सबैको कुराहरूलाई मतलब नगर्दा नै ठिक हुन्छ। यदि फिल्म राम्रो बनेको छ भने यस्तो कुरालाई पछाडि छोडेर अगाडि बढ्ने छ,' उनले भनिन्।
आमिरको २०१४ मा प्रदर्शन भएको फिल्म 'पीके'ले धार्मिक भावनामा चोट पुर्याएको भन्दै बहिस्कारको माग भएको थियो।
२०१५ मा एक टेलिभिजन कार्यक्रममा उनकी पूर्वपत्नी किरण रावले देशको माहोल बिग्रिँदै गएको हुँदा देश छोड्न चाहेको बताएकी थिइन्। उक्त बयानपछि आमिरको फिल्म 'दंगल'लाई बहिस्कार गर्न माग चलेको थियो। तर 'दंगल'ले हिन्दी भाषामा सर्वाधिक कमाउने रेकर्ड राखेको थियो।
अद्वेत चन्दनले निर्देशन गरेको फिल्म 'लाल सिंह चड्डा'मा आमिर र करीनासँगै नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ। फिल्ममा आमिर खान, किरण राव, ज्योती देशपण्डे र अजित अन्धेरेको लगानी रहेको छ।