बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोराकाे विवाहको विषय बारे बेलाबेला चर्चा भइरहन्छ। उनीहरू विवाहकाे तयारीमा छन् भन्ने खबर पनि आइरहन्छ।
तर करण जोहरको शो 'कफी विथ करण' मा अर्जुनले अहिले आफू विवाह गर्न तयार नभएको बताएका छन्।
उनले करणसँग विवाहकाे बारेमा कुराकानी गर्दै भने, 'इमानदारीताका साथ भन्ने हो भने म अहिले विवाहको लागि तयार छैन। कोभिड र लकडाउनबीच दुई वर्षमा धेरै कुरा भयाे। मलाइकाको नि आफ्नो जीवन र परिवार छ। म पनि आफ्नो करिअरमा केन्द्रित हुन चाहन्छु। म रियलस्टिक मान्छे हुँ। यसमा लुकाउनु पर्ने कुरा छैन।'
'म प्रोफेशनल रुपमा व्यवस्थित हुन चाहन्छु तर आर्थिक रुपमा होइन, भावनात्मक रुपमा। म यस्तो काम गर्न चाहन्छु जसमा मलाई खुसी लागोस्। किनकी म खुसी छु भने आफ्नो पार्टनरलाई पनि खुसी दिन सक्छु। मैले आफ्नो खुसी आफ्नो कामबाट पाउँछु,' उनले भने।
उनले आफ्नो बाल्यकाल सम्झँदै मलाइकाको छोरालाई आफूले झैं मानसिक तनाव खेप्नु पर्ला भनेर बिहे गर्न हतार नगर्ने पनि बताएका थिए।
'मलाइकाको पनि आफ्नो परिवार र छोरा छ। म जुन परिस्थितिमा हुर्किएँ त्यो सजिलो थिएन। मैले भोगेको कुरा मलाइकाको छोराले नभोगोस्। त्यसैले मैले मलाइकासँग विवाह गर्नुभन्दा अगाडि धेरै कुराको ख्याल राख्नुपर्छ। हाम्रो वरिपरिका व्यक्तिहरूलाई सहज वातावरण सहज बनाउनु पर्छ भन्ने लाग्छ। यतिकै म विवाह गर्छु भन्न हुँदैन,' उनले भने।
करणको शोमा उनले मलाइकाको हजुरआमासँग भेटघाट गरिसकेको बताए।
अर्जुन र मलाइका लगभग ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्। उनीहरूले २०१९ मा आफूहरू प्रेम सम्बन्धमा रहेको खुलासा गरेका थिए। ३७ वर्षका अर्जुन कपूर उमेरमा मलाइकाभन्दा १२ वर्ष कान्छा छन्।
अर्जुनभन्दा पहिला मलाइका सलमान खानको भाइ अरबाज खानको श्रीमती थिइन्। उनीहरूले २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए। मलाइका र अरबाजका एक छोरा अरहान छन्।