रक्षा बन्धनकाे अवसर पारेर बिहीबारबाट दुईवटा बलिउड फिल्म 'लाल सिंह चड्डा' र 'रक्षा बन्धन' प्रदर्शनमा आएका छन्। यी दुवै फिल्म बक्स अफिसमा कमजोर सावित भएका छन्।
आमिर खानको 'लालसिंह चड्डा' र अक्षय कुमारको 'रक्षाबन्धन'ले बक्स अफिसमा कमजोर ओपनिङ गरेको छ। भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार 'लाल सिंह चड्डा'ले पहिलो दिन १२ करोड भारतीय रुपैयाँ कमाएको छ भने 'रक्षा बन्धन'ले ८ करोड २० लाख भारतीय रुपैयाँ कमाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार 'लालसिंह चड्डा' १ सय ८० करोडको लगानीमा बनेको हो भने 'रक्षाबन्धन' ७० करोड बजेटमा बनेको हो। तर दुवै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्।
'लालसिंह चड्डा' हलिउड फिल्म 'फरेस्ट गम्प' को हिन्दी रिमेक हो। चार वर्षपछि आमिरले यसै फिल्ममार्फत कमब्याक गरेका थिए। त्यसैले यस फिल्मबाट निकै आशा गरिएको थियो। यो फिल्मले बक्स अफिसमा कमजोर व्यापार गर्नुको साथै नकारात्मक समीक्षा पाइरहेको छ।
अद्वेत चन्दनले निर्देशन गरेको फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय छ।
यस्तै अक्षयको 'रक्षा बन्धन'ले पनि दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ तर हलमा दर्शकको उपस्थिति न्यून छ। यो वर्ष अक्षयको बक्स अफिसमा कमजोर देखिएको तेस्रो फिल्म हो। यसअघि 'बच्चन पाण्डे' र 'सम्राट पृथ्वीराज'ले पनि राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।
आनन्द एल रायको निर्देशन तथा लेखन रहेको फिल्ममा अक्षयसँगै भूमि पेडनेकर, सादिया खातिब, दीपिका खन्ना, स्मृति श्रीकान्त र साहिजमान कौरलगायत कलाकारको अभिनय छ।