भारतका चर्चित कमेडियन राजु श्रीवास्तव केही दिनदेखि एम्स अस्पतालमा उपचाररत छन्। जिममा उनलाई हृदयाघात भएको थियो। ट्रेडमिलमा दौडिरहेका बेला बेहोस भएका उनको अझै होस आएको छैन।
उनलाई अस्पताल पुर्याउने बित्तिकै दुई पटक सिपिआर दिइएको थियो। सिपिआर भनेको विशेषगरी हृदयाघात भएकाहरूको उपचारका निम्ति प्रयोग गरिने प्रविधि हो।
भारतीय सञ्चारमाध्यम इन्डिया डटकमका अनुसार उनको दिमागले कुनै प्रतिक्रिया नजनाए पनि स्वास्थ्यमा सुधार भइरहेको छ।
राजुका भतिज कौशल श्रीवास्तवले ईटाइम्ससँग कुराकानी गर्दै राजुको स्वास्थ्यमा सुधार भइरहेको बताएका हुन्।
'उहाँको स्वास्थ्यमा विस्तारै सुधार हुँदैछ। डाक्टरहरूले सकारात्मक प्रतिक्रिया दिइरहनु भएको छ। उहाँले आफ्नाे हात र औंलाहरू चलाउनुभएको डाक्टरले जानकारी दिएका छन्। उहाँ लडाकु हुनुहुन्छ, फर्केर आउनुहुन्छ। कुनै हल्लाको पछि नलाग्नुस्,' उनले भने।
शनिबार राजुको मृत्यु भएको हल्लासमेत फैलिएको थियो।
५८ वर्षीय श्रीवास्तव चर्चित कमेडियन हुन्। उनी 'इन्डियाज लाफ्टर च्यालेन्ज', 'बिग बोस सिजन ३', 'देख भाइ देख' जस्ता कार्यक्रममा देखिएका छन्।
त्यस्तै 'बम्बई टु गोवा' र 'ट्वाइलेट: एक प्रेम कथा' जस्ता फिल्ममा पनि उनले अभिनय गरिसकेका छन्।