सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा फिल्म बहिष्कार गर्ने चलन अझै रोकिएको छैन।
हालै आमिर खानको फिल्म 'लाल सिंह चड्डा' र अक्षय कुमारको फिल्म 'रक्षा बन्धन' बहिष्कारको शिकार भएका छन्। यी दुवै फिल्म हलमा प्रदर्शन हुनुअघि नै सामाजिक सञ्जालमा बहिष्कार सुरू भएको थियो। दुवै फिल्म बहिष्कारको असर बक्स अफिसमा देखिएको छ। ठूलो लगानीमा बनाएका यी फिल्मले राम्रो व्यापार गर्न सकेका छैनन्।
यसै ट्रेन्डको शिकार ऋतिक रोशन पनि भएका छन्। उनले ट्विटरमा आमिर खान र करीना कपूर खानको फिल्म 'लाल सिंह चड्डा'को तारिफ गरेपछि बहिष्कारका शिकार भएका हुन्।
उनले १३ अगस्टमा फिल्म हेरेपछि एक पोस्ट लेखेका थिए। 'मैले हालै फिल्म लाल सिंह चड्डा हेरेँ। मैले यस फिल्मलाई मनदेखि महसुस गरेँ। यो निकै शानदार फिल्म बनेको छ। त्यसैले यो फिल्म हेर्ने अवसर नगुमाउनुस्। जानुस्, हेर्नुस् र यसलाई महसुस गर्नुस्,' उनले लेखेका छन्।
ऋतिकको यस पोस्टमा करीनाले धन्यवाद भन्दै प्रतिक्रिया दिएकी छन्। तर दर्शकहरूले आक्रोशित हुँदै ऋतिकको आगामी फिल्म 'विक्रम वेधा'लाई बहिष्कारको माग गरिरहेका छन्।
यतिबेला ह्यासट्याग बाइकट विक्रम वेधा ट्रेन्ड चलिरहेको छ। एक युजरले लेखेका छन्, 'कोही रिमेक फिल्म किन हेरुन्? जबकी यसको ओरिजिनल फिल्म हिन्दीमा पाइन्छ। बोयकट विक्रम वेधा।'
यो विजय सेतुपति र आर माधवन अभिनित फिल्म 'विक्रम वेधा'को हिन्दी रिमेक हो। यसलाई तमिल भाषामा पनि यसै नाममा बनाइएको थियो।