भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा भारत-पाकिस्तानको युद्धमा आधारित फिल्म 'पिप्पा'को टिजर सार्वजनिक गरिएको छ।
सोमबार सार्वजनिक गरिएको टिजरमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानसँग युद्ध घोषणा गरेको सन्दर्भलाई देखाइएको छ। फिल्ममा सन् १९७१ मा पाकिस्तानविरुद्ध ४८ घण्टा लामो युद्धको पृष्ठभूमिलाई प्रस्तुत गरिएको छ।
फिल्म भारतीय सेनाका बिग्रेडियर बलराम मेहताले लेखेको पुस्तक 'द बर्निङ चफिज'मा आधारित छ। उनले उक्त युद्धमा भारतको पूर्वी क्षेत्रबाट लड्ने सैनिक अधिकृत क्याप्टेनको भूमिका निर्वाह गरेका थिए।
फिल्मको शीर्षकले रुसी युद्धपोत पिटी-७६ लाई जनाउँछ। जसलाई 'पिप्पा'को उपनाम दिइएको थियो।
राजाकृष्ण मेननले निर्देशन गरेको फिल्ममा इशान खट्टर, मृणाल ठाकुर, प्रियांशु पेन्युली, सोनी राजदानलगायत कलाकारको अभिनय छ। फिल्ममा सिद्धार्थ रोय कपूर र रोनी स्क्रेवालाको लगानी छ।
यो फिल्म मंसिर १६ गतेबाट प्रदर्शन हुनेछ।