बलिउड अभिनेता आमिर खानको फिल्म 'लाल सिंह चड्डा' फ्लप भएपछि वितरकहरूले क्षतिपूर्तिको माग गरेका छन्।
१८० करोडको बजेटमा बनेको फिल्मले ४ दिनमा ३७ करोड ९६ लाख भारतीय रुपैयाँ कमाएको छ। यो निकै कमजोर कमाइ हो। यसअघि आमिरको फिल्म 'ठग्स अफ हिन्दोस्तान'ले पहिलो दिन ५२ करोड कमाएको थियो। फिल्मको कथा कमजोर भएको भन्दै यो फिल्म पनि बक्स अफिसमा फ्लप सावित भएको थियो। लगातार दुई फिल्म फ्लप भएपछि आमिर स्तब्ध रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।
'लाल सिंह चड्डा' हलिउड फिल्म 'फरेस्ट गम्प'को रिमेक हो। यो फिल्म प्रदर्शन हुनुअघि नै सामाजिक सञ्जालमा बहिष्कार अभियान चलेको थियो। यसको असर बक्स अफिसमा पनि देखिएको छ।
'आमिरले फरेस्ट गम्पको उत्कृष्ट संस्करणलाई सम्भव बनाउन निकै मिहिनेत गरेका थिए। बहिष्कार ट्रेन्डले उनलाई नराम्रो असर पार्यो,' आमिर र उनकी पूर्वपत्नी किरण राव नजिकका साथीले बलिउड हंगामासँग भने।
यति ठूलो झट्कापछि वितरकहरूले आमिरसँग क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन्। किनकी उनी यस फिल्मको सह-निर्माता हुन्। फिल्मका मुख्य अभिनेता र निर्माता भएको हिसाबले असफलताको जिम्मेवारी आमिरलाई बताइएको छ।
अद्वैत चन्दनले निर्देशन गरेकाे फिल्ममा आमिरसँगै करीना कपूर खान, मोना सिंह, नागा चैतन्यलगायत कलाकारकाे अभिनय छ।