भारतीय गायक तथा संगीतकार राहुल जैनविरूद्ध बलात्कारको आरोप लागेको छ।
उनीविरूद्ध ३० वर्षीय फेशन डिजाइनरले बलात्कारको आरोप लगाएकी हुन्।
डिजाइरका अनुसार राहुलले मुम्बईको अंधेरीस्थित आफ्नै घरमा बलात्कार गरेका थिए। भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार घटना अगस्ट ११ मा भएको हो। प्रहरीले राहुलविरुद्ध उजुरी दर्ता गरेको छ।
ओशिवारा पुलिस स्टेशनमा रेकर्ड गरिएको बयानमा राहुलले उनलाई इन्स्टाग्राममा सम्पर्क गर्दै उनको कामको तारिफ गरेका थिए। साथै उनले आफ्नो आधिकारिक ड्रेस डिजाइनर बनाउने आश्वासन दिएका थिए। उक्त विषयमा कुराकानी गर्नको लागि उनले आफ्नो फ्ल्याटमा बोलाएका थिए। गत अगस्ट ११ मा राहुलको घर गएपछि उनले आफूलाई सामान देखाउने बहानामा बलात्कार गरेको डिजाइनरले दाबी गरेकी छन्।
राहुलकाे विरोध गर्दा उनले आफूमाथि कुटपिट गरेको र पछि प्रमाण नष्ट गर्ने प्रयास गरेको डिजाइनरले बताएकी छन्। पुलिसले राहुलविरुद्ध भारतीय दण्ड संहिताको धारा ३७६ (बलात्कार), ३२३ (स्वैच्छिक चोट पुर्याउने) र ५०६ (आपराधिक धम्की) अन्तर्गत उजुरी दर्ता गरिएकाे छ। तर अहिलेसम्म उनलाई प्रक्राउ गरिएको छैन।
राहुलले सफाइ दिँदै भनेका छन्, 'म उनलाई चिन्दिनँ। उनले लगाएका आरोप झुटो र आधारहीन छ। यसअघि पनि एक महिलाले ममाथि यस्तै आरोप लगाएकी थिइन् तर मैले न्याय पाएँ। यो महिला पनि त्यो महिलासँग मिलेको हुनसक्छ।'
गत वर्ष उनीविरूद्ध बलात्कार, जबरजस्ती गर्भपतन र धोकाधडीको आरोप लागेको थियो।
राहुल जैनले फिल्म 'फीवर'को 'तेरी याद से' बोलको गीतबाट गायनमा डेब्यू गरेका थिए। उनले २५० भन्दा बढी म्युजिक ट्र्याक बनाइसकेका छन्।