आमिर खानको लाल सिंह चड्डा र अक्षयकुमारको रक्षा बन्धन अगष्ट ११ मा रिलिज भएका थिए।
यी दुई चलचित्र एकै दिन रिलिज भए पनि व्यापारविज्ञ कोमल नाहटाले दुवै चलचित्रले राम्रो कमाई गर्ने विश्वास लिएका थिए।
दुवै फिल्म रक्षाबन्धनको बिदामा रिलिज भएका थिए। लगत्तै शनिबार, आइतबार र सोमबार स्वतन्त्रता दिवसको दिन भएकाले विदाको अवसरमा फिल्मले राम्रो ब्यापार गर्ने अपेक्षा थियो। तर नतिजा निराशाजनक रह्यो।
दुवै चलचित्रले लगानीसमेत नउठाउने देखियो। अहिलेसम्मको कमाई हेर्दा आमिर खान करिब १०० करोड घाटामा जाने देखिएका छन् भने अक्षयकुमार १० करोड हाराहारी घाटामा जाने देखिका छन्।
दुबै चलचित्रले कति कमाउन सक्छन्?
अहिलेसम्मको बजार हेर्दा लालसिंह चड्डाले ७० करोड कमाउनसक्ने आँकलन गरिएको छ भने रक्षा बन्धनले ६० करोड कमाउन सक्ने देखिएको छ।
भविष्यवाणी अनुसार आमिर खानको फिल्मले करिब १०० करोड घाटा बेहोर्नुपर्नेछ। रक्षा बन्धनले बजेटको आधा कमाइसकेको भएकाले आगामी दिनमा लगभग १० करोड मात्रै घाटा हुनेछ।
रक्षा बन्धन कमाईमा लाल सिंह चड्डाभन्दा पछाडि भए पनि बजेटका हिसाबले अक्षय कुमारको फिल्म आमिरको फिल्मभन्दा अगाडि देखिएको छ।
फिल्मको कमाई |
दिन | लाल सिंह चड्डा | रक्षाबन्धन |
पहिलो दिन | ११ करोड | ८.२ करोड |
दोस्रो दिन | ८.५ करोड | ६.४ करोड |
तेस्रो दिन | ९ करोड | ६.५ करोड |
चौथो दिन | १०.५ करोड | ८.२ करोड |
पाँचौ दिन | ८.८ करोड | ७ करोड |
हालसम्मको जम्मा | ४६.८ करोड | ३५.३ करोड |
लगानी | १८० करोड | ७० करोड |
लालसिंह चड्डाले किन पैसा कमाउन सकेन?
व्यापार विज्ञहरूका अनुसार लालसिंह चड्डा असफलताको कारण यसको कथा हो। यो फिल्म हलिउड सिनेमा 'फरेस्ट गम्प' को रिमेक हो। जुन धेरै मानिसहरूले पहिलेनै हेरिसकेका थिए। यस्तो अवस्थामा कलाकार परिवर्तन भएको फिल्म हेर्न मान्छे आएनन्।
फिल्म फ्लप हुनुको अर्को कारण फिल्मको विरोध पनि हो। यो फिल्म प्रदर्शन हुनुअघि नै सामाजिक सञ्जालमा बहिष्कार अभियान चलेको थियो। यसको असर बक्स अफिसमा देखियो।
ट्रेड एक्सपर्ट तरण आदर्शका अनुसार कुनै पनि फिल्मको कथा कमजोर हुँदा बहिष्कारले ठूलो असर गर्नेगर्छ। उनले लालसिंह चड्डाको कथा ठिक भए पनि जनतालाई नरूचाएको बताए। यस्तो अवस्थामा बहिष्कारको प्रवृत्तिले थप पीडा दिएको छ। फिल्म बलियो भएको भए बहिष्कारले कुनै असर नगर्ने उनले दाबी गरे।
यस्तै ट्रेड एक्सपर्ट कोमल नाहटाले फिल्म असाधारण भएमा विवादको असर नहुने जिकिर गरे। यदि फिल्म औसत भएमा यसले ठूलो घाटा सहनुपर्ने बताए।
विरोध किन ?
लाल सिंह चड्डा– आमिर खानले सन् २०१५ मा असहिष्णुताको मुद्दामा बयान दिँदै भारत छोड्ने कुरा गरेका थिए। उनको पुरानो भनाइकै कारण लालसिंह चड्डालाई बहिष्कार गरिएको हो।
रक्षा बन्धन- फिल्मकी लेखिका कनिका ढिल्लनले वर्षौंअघि गाईलाई लिएर विवादास्पद टिप्पणी गरेकी थिइन्। उनले भाजपा सरकारलाई गौ संरक्षणको नाममा देशमा भएको दंगाको कारण भनेकी थिइन्। उनले लेखेको फिल्म रक्षा बन्धनमा पनि विवादास्पद बयान दिएपछि फिल्मको विरोध भइरहेको हो।
वितरकले मागे क्षतिपूर्ति
आमिर खानको फिल्म 'लाल सिंह चड्डा' फ्लप भएपछि वितरकहरूले क्षतिपूर्तिको माग गरेका छन्।
'आमिरले फरेस्ट गम्पको उत्कृष्ट संस्करणलाई सम्भव बनाउन निकै मिहिनेत गरेका थिए। बहिष्कार ट्रेन्डले उनलाई नराम्रो असर पार्यो,' आमिर र उनकी पूर्वपत्नी किरण राव नजिकका साथीले बलिउड हंगामासँग भने।
यति ठूलो झट्कापछि वितरकहरूले आमिरसँग क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन्। किनकी उनी यस फिल्मको सह-निर्माता हुन्। फिल्मका मुख्य अभिनेता र निर्माता भएको हिसाबले असफलताको जिम्मेवारी आमिरलाई बताइएको छ।
अद्वैत चन्दनले निर्देशन गरेकाे फिल्ममा आमिरसँगै करीना कपूर खान, मोना सिंह, नागा चैतन्यलगायत कलाकारकाे अभिनय छ।