भारतका चर्चित कमेडियन राजु श्रीवास्तव केही दिनदेखि दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन्।
हृदयाघात भएर अस्पतालमा भर्ना भएका राजुको अवस्था गम्भीर रहेकाे भारतीय सञ्चार माध्यममा उल्लेख छ।
केही समयअगाडि राजुको ब्रेन डेड भएको खबर बाहिरिएको थियो। उनको म्यानेजर राजेश शर्माले भने राजुको ब्रेन डेड नभएको बताएका छन्। उनी हाल कोमामा छन्।
राजुको श्रीमतीले राजु कोमाबाट बाहिर आउने विश्वास व्यक्त गर्दै उनको लागि प्रार्थना गर्न अनुरोध गरेकी छन्।
'हामीलाई पूरा विश्वास छ कि राजु फर्किन्छन्। किनकी उहाँ एक योद्धा हो। उहाँले यस लडाइँलाई जित्नुहुन्छ। तपाईंहरू सबैलाई मनोरञ्जन दिनको लागि उहाँ फर्किनु हुनेछ। डाक्टरहरू निकै मेहनतका साथ काम गरिरहेका छन्। तपाईंहरूलाई उहाँको लागि प्रार्थना गर्न आग्रह गर्छु किनकी राजुजीलाई तपाईहरूको साथको आवश्यकता छ,’ उनले भनिन्।
अगस्ट १० मा ट्रेडमिलमा दौडिरहेका बेला उनी बेहोस भएका थिए। त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनलाई अस्पताल पुर्याउने बित्तिकै दुई पटक सिपिआर दिइएको थियो। सिपिआर भनेको विशेषगरी हृदयाघात भएकाहरूको उपचारका निम्ति प्रयोग गरिने प्रविधि हो।
सिपिआर गरेपछि उनको स्वास्थ्यमा केही सुधार देखिएको थियो। तर हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ।
५८ वर्षीय श्रीवास्तव चर्चित कमेडियन हुन्। उनी 'इन्डियाज लाफ्टर च्यालेन्ज', 'बिग बोस सिजन ३', 'देख भाइ देख' जस्ता कार्यक्रममा देखिएका छन्।
त्यस्तै 'बम्बई टु गोवा' र 'ट्वाइलेट: एक प्रेम कथा' जस्ता फिल्ममा पनि उनले अभिनय गरिसकेका छन्।