भारतका चर्चित कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आएका छन्।
१० अगष्टमा हृदयाघातका कारण उनी दिल्लीको एम्स अस्तपालमा भर्ना भएका थिए। एएनआईका अनुसार राजुको १५ दिनपछि होस आएको हो।
केही दिनअगाडि उनको दिमागले कुनै प्रतिक्रिया दिएको थिएन। उनको दिमागले कुनै प्रतिक्रिया नदिएपछि मृत्युको हल्ला समेत फैलिएको थियो।
राजुका निजी सचिव गर्भित नारङले बिहीबार बिहानै राजु होसमा आएकाे जानकारी दिएका हुन्।
'राजु श्रीवास्तवको बिहान ८:१० मा होस आएको हो। त्यसपछि ९ बजे डाक्टरले राजुलाई भेन्टिलेटरबाट हटाएर उनको अवस्थाको जाँच गरेका थिए,' उनले भने।
यसअघि उनका आफन्तले डाक्टरले राम्रो उपचार गरिरहेको बताएका थिए।
‘उनी लडाकु हुन् र छिट्टै लडाइँ जितेर फर्कनेछन्। उनी कमेडीबाट सबैलाई मनोरञ्जन दिनेछन्,’ राजुका भाइ दिपुले विज्ञप्ति जारी गर्दै भनेका छन्।
हाल राजु पाइपमार्फत दूध पिइरहेका छन्। न्यूरो फिजियोथेरापीमार्फत उनको दिमागमा अक्सिन पुर्याउने काम भइरहेको छ।