भारतीय अभिनेता विजय देवरकोन्डा र अनन्या पाण्डे अभिनित फिल्म 'लाइगर' गत बिहीबारदेखि प्रदर्शनमा आएको छ।
फिल्मको एड्भान्स बुकिङ राम्रो देखिएको थियो। प्रदर्शन हुनुअघि 'लाइगर'ले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने अपेक्षा थियो तर फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन।
फिल्मले खराब समीक्षा पाउनुकाे साथै दर्शकहरूले पनि मन पराएका छैनन्। भारतमा करिब २५ सय स्क्रीनमा प्रदर्शन भएको फिल्मले निराशाजनक व्यापार गरेकाे छ।
'लाइगर' हिन्दी, तमिल, कन्नड, मलयालम र तेलुगु भाषामा प्रदर्शन भएको छ।
भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार फिल्मले पहिलो दिन सबै भाषामा १६ करोड भारु कमाएको छ। दोस्रो दिन ७ करोड ७० लाख भारु कमाएको फिल्मले तेस्रो दिन ६ करोड ९५ लाख भारु कमाएको छ।
फिल्मको व्यापार दिनप्रति दिन घट्दो क्रममा छ। यो फिल्मले अहिलेसम्म ३० करोड ६ लाख भारु कमाएको छ।
भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले हिन्दी संस्करणमा १ करोड २५ लाख भारुको ओपनिङ गरेको थियो। दोस्रो दिन ४ करोड ५० लाख कमाएको फिल्मले तेस्रो दिन ५ करोड ७५ लाख भारु कमाएको छ। हिन्दी संस्करणमा 'लाइगर' बिहीबार राती ८ बजेपछि मात्रै प्रदर्शन भएको थियो।
जगन्नाथ पुरीले निर्देशन गरेको फिल्ममा विजय र अनन्यासँगै राम्या कृष्नन, रोनित रोय, विशु रेड्डी, अली, गेतुप श्रीनुलगायत कलाकारको अभिनय छ। साथै फिल्ममा विश्वविख्यात बक्सर माइक टाइसनको पनि अभिनय रहेको छ।
फिल्ममा करण जोहर, चर्ममे कौर, अपूर्भा मेहेता लगायतको लगानी रहेको छ।