रणवीर कपुरको फिल्म 'ब्रह्मास्त्र'ले पहिलो दिनमै कीर्तिमानी कमाई गरेको छ।
फिल्मले ओपनिङ दिनमा भारतमा ३६ करोड कलेक्सन गरेको छ। आयान मुखर्जीको निर्देशनमा बनेको ४१० करोडको लगानीको ब्रह्मास्त्रले हिन्दी बेल्टमा करिब ३६ करोड कमाएउँदा फिल्मले आन्ध्र प्रदेश र तेलंगाना राज्यमा ५.८० करोड कमाएको छ। फिल्मको पहिलो दिनको कलेक्सन विश्वव्यापी रूपमा ७५ करोड थियो।
यो सँगै ब्रह्मास्त्र कोरोनापछि बक्स अफिसमा पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ।
रणवीर र आलिया भट्टको मुख्य भूमिका भएको यो चलचित्रले कमाइका आधारमा सञ्जु, टाइगर जिन्दा है र धुम थ्री जस्ता चलचित्रको ओपनिङ डे कलेक्सनलाई पछि पारेको छ।
यस्तै नन् होलिडे ओपनिङका आधारमा यो चलचित्र हालसम्मकै सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको छ।
फिल्मको बारेमा मिश्रित प्रतिक्रिया आएसँगै पहिलो दिनकै कमाइका आधारमा केही भन्न सकिने अवस्था नरहेको फिल्मी पण्डितहरूले बताएका छन्। कथा नै अस्पष्ट भएको भन्दै केहीले चलचित्रको आलोचनासमेत गरेका छन्।
कोरोनापछि गत वर्ष अक्टोबरमा थिएटरहरू खुलेका थिए। त्यसपछि करिब २७ वटा फिल्म हलमा रिलिज भए। अक्षय कुमार, आमिर खान जस्ता ठूला स्टारका ८ ठूला बजेट फिल्म रिलिज भए पनि पहिलो दिन कसैले पनि यति ठूलो व्यापार गर्न सकेनन्।
अयान मुखर्जीले पहिलो दिनको कमाई शेयर गर्दै दर्शकलाई धन्यवाद दिएका छन् ।
योसँगै ट्रेड पण्डितहरूका अनुसार फिल्मले पहिलो सातामै १०० करोडको आँकडा छुनेछ। यस फिल्ममा रणवीर–आलियाका अलावा नागार्जुन, अमिताभ बच्चन, शाहरुख खान र मौनी रोयको पनि महत्वपूर्ण भूमिका छ ।
शुक्रबार रिलिज भएको ब्रह्मास्त्रले भारतमा ५,०१९ स्क्रिनमा र विदेशमा ३,८९४ स्क्रिनिसहित ८९१३ स्क्रिनमा एकसाथ रिलिज भएको थियो।
रिपोर्टका अनुसार बुधबार रातिसम्म ‘ब्रह्मास्त्र’ को पहिलो दिनका लागि ११ करोडको टिकट बिक्री भएको थियो। जसमध्ये फिल्मले हिन्दी बेल्टमा मात्रै १० करोडभन्दा बढी कमाइ गरेको छ ।
यसपछि अयानको फिल्मले हिन्दी संस्करणको अग्रिम बुकिङमा आरआरआरलाई उछिनेको हो। आरआरआरले पहिलो दिन ७ करोडको अग्रिम बुकिङ गरेको थियो। यद्यपि ‘ब्रह्मास्त्र’ले ‘केजीएफ २’ लाई भने पछि पार्ने सकेन।
उद्योग ट्र्याकिङ पोर्टलका अनुसार ब्रह्मास्त्रको हिन्दी संस्करणको ओपनिङ वीकेन्ड बुकिङ २२.२५ करोड रहेको छ। फिल्मको तेलुगु संस्करणले ९८ लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री गरेको छ भने तमिलमा ११.१ लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री भएको छ।
यस्तै ब्रम्हास्त्रले दोस्रो दिन शनिबार प्रारम्भिक अनुमान अनुसार ४१.२५ देखि ४३.२५ करोड रुपैयाँ कमाएको छ।