बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म 'ब्रह्मास्त्र पार्ट १'ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम एनडी टिभी इन्डियाका अनुसार फिल्मले भारतमा एक सातामा १७३ करोड २० लाख भारतीय रुपैयाँ कमाइ गरेको हाे। यो फिल्मले एक सातामा २०० करोड कमाउने फिल्मकर्मीको आशा थियो। तर फिल्म २ सय करोड क्लबमा समावेश हुन सकेन।
४१० करोड लगानीमा बनेको 'ब्रह्मास्त्र'ले भारतमा पहिलो दिन ३६ करोड ४२ लाख कमाएको छ। योसँगै फिल्मले दोस्रो दिन ४२ करोड ४१ लाख कमाएको छ।
यस्तै तेस्रो दिन ४५ करोड ६६ लाख कमाइ गरेको छ। चौथो दिनमा १६ करोड ५ लाख कमाएको फिल्मले पाचौं दिन १२ करोड ६८ लाख कमाएको छ।
छैटौं दिनमा १० करोड ५८ लाख रुपैयाँ कमाए गरेको फिल्मले सातौं दिनमा ९ करोड कमाएको छ।
पहिलो दिन फिल्मको ग्लोबल कलेक्सन ७५ करोड थियो। फिल्मले पहिलो साता विश्वभरबाट ३०० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।
अयान मुखर्जी निर्देशित फिल्ममा रणवीर र अलियासँगै अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मौनी रोयलगायत कलाकारको अभिनय छ। गत शुक्रबारदेखि फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा एकसाथ प्रदर्शन भइरहेकाे छ।
'ब्रह्मास्त्र'को दोस्रो पार्ट सन् २०२५ मा प्रदर्शन हुनेछ। जसमा रणवीर कपूर, दीपिका पादुकोण र शाहरुख खानको मुख्य भूमिका रहनेछ।