भारतीय फिल्म 'पोन्नियिन सेल्वन- १' ले रिलिज भएको पाँचौं दिनसम्म ३ सय करोड भारूभन्दा धेरै कमाएर बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ।
मणि रत्नमको निर्देशनमा बनेको फिल्मले प्रदर्शनको पाँचौं दिनसम्म विश्वव्यापी रूपमा ३ सय करोड भारूभन्दा धेरै कमाइ गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ।
सेप्टेम्बर ३० मा रिलिज भएको यो फिल्म कल्कीद्वारा लिखित यही नामको चर्चित उपन्यासमा आधारित छ।
पाँच भाषा; तमिल, हिन्दी, तेलुगू, मलयालम र कन्नडमा रिलिज भएको यो फिल्मले कमाइमा धेरै रेकर्ड पनि बनाउन सफल भएको छ।
फिल्ममा ऐश्वर्य राय, विक्रम, त्रिसा, सोभिता धुलिपाला, जयम रवि, ऐश्वर्य लक्ष्मी लगायतको मुख्य भूमिका छ। यो फिल्मसँगै अभिनेत्री ऐश्वर्य बच्चनले धेरै समयपछि तमिल फिल्ममा कमब्याक गरेकी हुन्। फिल्ममा उनको दोहोरो भूमिका छ। ऐश्वर्यको भूमिकाको धेरै दर्शक र समीक्षकले प्रशंसा गरेका छन्।
यो फिल्मको बजेट पनि धेरै भएको बताइएको छ। तर फिल्मको कमाइ ट्रेन्ड हेर्दा यो सजिलै फाइदामा जाने अनुमान छ।
हिन्दुस्तान टाइम्सका अनुसार यसले पहिलो दिन नै विश्वव्यापी रूपमा ८० करोड भारू कमाएको थियो। गत शुक्रबार रिलिज भएको फिल्मले आइतबारसम्म २०० करोड भारू कमाइसकेको थियो।
तमिल नाडुमै यसले एक सय करोड भारू कमाइसकेको छ।