बलिउड अभिनेत्री सुस्मिता सेन 'ट्रान्सवुमन' बनेकी छन्। उनी आफ्नो आगामी फिल्म 'ताली' का लागि ट्रान्सवुमन (पारलैंगिक) महिलाको भूमिकामा देखिन लागेकी हुन्।
सुस्मिताले आफ्नो इन्स्टाग्राम खातामा 'ताली' मा आफ्नो लुक्सको तस्बिर सार्वजनिक गरेकी छन्। सुस्मिताको यो फिल्म पारलैंगिक महिला गौरी सावन्तको जीवनीमा आधारित छ।
मुम्बईकी पारलैंगिक अभियन्ता गौरी सावन्त 'कौन बनेगा करोडपति' को सिजन ९ मा पनि देखिएकी थिइन्। उनी त्यहाँ गायिका उषा उथुपको सहयोगमा पुगेकी थिइन्। यौन पेसाकर्मीहरूका लागि घर बनाइदिन आर्थिक सहयोग गर्ने उद्देश्यले गौरी उक्त कार्यक्रममा सहभागी भएकी भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
गौरी सावन्तले 'भिक्स' को विज्ञापनमा पनि खेलिसकेकी छन्।
सन् १९९४ की मिस युनिभर्स विजेता सुस्मिताले सामाजिक सञ्जालमा फोटो राख्दै लेखेकी छन्, 'ताली- बजाउँदिनँ, बजाउन लगाउँछु। गौरी सावन्त जस्तो सुन्दर व्यक्तिको भूमिका निर्वाह गर्न पाउनु र उनको जीवन दुनियाँलाई देखाउन पाउनुमा मलाई एकदमै गर्व लागेको छ। म आभारी छु।'
सन् १९९४ मा मिस युनिभर्सको ताज पहिरिएलगत्तै बलिउड प्रवेश गरेकी सुस्मिताको फिल्मी करिअर कहिल्यै पनि खासै जमेन। उनका फिल्महरू हिट त हुन्थे तर उनले समकालीनहरूको दाँजोमा अलग्गै पहिचान बनाउन सकेकी थिइनन्।
आफ्नो लामो करिअरमा उनका यादगार सिनेमा खासै छैनन्। यसबीच पछिल्लो १० वर्ष उनी बलिउडबाट पूरै हराइन्। आफ्नो स्वास्थ्य उपचार र दुई जना छोरीको लालनपालनमै व्यस्त भएकाले करिअरबाट विश्राम लिएको उनले बताएकी छन्।
दस वर्षपछि उनले गत वर्ष डिज्ने स्टारको वेबसिरिज 'आर्या' मार्फत् कमब्याक गरेकी छन्। यो वेबसिरिजको दोस्रो संस्करण पनि रिलिज भइसकेको छ।
'आर्या' को पहिलो संस्करणबाट सुस्मिता सेनले थुप्रै अवार्डहरू पनि जितेकी छन्।
केही समयअघि सुस्मिता आफ्नो प्रेम सम्बन्धका कारण पनि चर्चामा आएकी थिइन्। सुस्मिता र आइपिएलका पूर्व अध्यक्ष ललित मोदी एकअर्कासँग प्रेम सम्बन्धमा थिए।
केही समयपछि ललितले सामाजिक सञ्जालबाट सुस्मिताका फोटा हटाएपछि उनीहरूको ब्रेकअप भएको हो कि भन्ने आकलन पनि छ। आफूहरूको सम्बन्धबारे आफैंले जानकारी दिएका उनीहरूले छुटेकाबारे भने कुनै प्रतिक्रिया दिएका छैनन्।