दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र बलिउड अभिनेता सलमान खान अभिनित फिल्म 'गड फादर' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
यो फिल्मले तेलुगु संस्करणमा मात्र नभई हिन्दी संस्करणमा पनि राम्रो कमाइ गरेको छ। आगामी दिनमा फिल्मले अझै राम्रो व्यापार गर्ने भारतीय फिल्मकर्मीहरूको विश्वास छ।
फिल्म प्रदर्शन भएको ५ दिनमा करिब ७ करोड भारतीय रुपैयाँ कमाएको छ। यो हिन्दी संस्करणको कमाइ हो। भारतीय बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले ६ करोड ५६ लाख कमाएको छ।
बुधबार फिल्मले हिन्दी संस्करणमा १ करोड ६१ लाख भारतीय रुपैयाँमा ओपनिङ गरेको थियो। फिल्मले बिहीबार, ८७ लाख, शुक्रबार ९६ लाख, शनिबार १ करोड ४५ लाख, आइतबार १ करोड ६७ लाख रुपैयाँ कमाएको छ।
फिल्मले विश्वव्यापी रुपमा १०० करोड कमाएको भारतीय सञ्चार माध्यम बलिउड लाइफमा उल्लेख छ।
यो मलयालम फिल्म ‘लुसिफर’को रिमेक हो। फिल्ममा रामचरण, आरबी चौधरी र एनभी प्रसादको लगानी रहेको छ।
मोहन राजाले निर्देशन गरेको फिल्ममा चिरञ्जीवी र सलमानसँगै नयनतारा, सत्यदेव कन्चरणलगायत कलाकारको अभिनय छ। यो सलमान खानकाे तेलुगु डेब्यु फिल्म हाे।