भारतीय अभिनेत्री सामन्था रूथ प्रभुको नयाँ फिल्म 'यशोदा' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार आदित्य मुभिजको युट्युब च्यानलमार्फत् ट्रेलर सार्वजनिक गरिएको हो।
सामन्थाले पनि आफ्नो ट्विटरमार्फत् ट्रेलर सार्वजनिक गर्दै लेखेकी छन्, 'यसको स्क्रिप्ट पहिलोपटक सुन्दा मलाई चिसो अनुभव भएको थियो। आशा छ तपाईंहरू सबैलाई यस्तै अनुभव हुनेछ।'
हरि शंकर र हरिश नारायणद्वारा लिखित र निर्देशित फिल्म यशोदा सरोगेसी (भाडाको कोख) को मुद्दामा बनेको छ। भारतमा अहिले व्यावसायिक सरोगेसीमा प्रतिबन्ध लगाइएको छ। त्यसैले यो फिल्मको कथा प्रतिबन्ध लाग्नुअघिको भएको अनुमान गरिएको छ।
यशोदाको भूमिकामा सामन्था देखिएकी छन्। गरिब परिवारकी उनी पैसाका लागि अत्याधुनिक सरोगेसी केन्द्रमा पुग्छिन् र आफ्नो कोख भाडामा लगाउँछिन्।
तर यो उनले सोचेभन्दा व्यापक र भयावह हुन्छ। उनी कुनै अप्ठ्यारोमा फस्छिन्।
फिल्मकी मुख्य पात्र यशोदा कमजोर छैनन्। ट्रेलरमा उनी आफ्ना समस्या र दुश्मनसँग लडिरहेकी देखिन्छिन्।
यसक्रममा सामन्थाको एक्सन पनि देख्न पाइन्छ।
तमिल र तेलेगू भाषामा बनेको यो फिल्म हिन्दीमा पनि डब भएको छ। यो फिल्म आगामी नोभेम्बर ११ मा रिलिज हुने बताइएको छ।
हेर्नुहोस् ट्रेलरः