भारतीय अभिनेता रजनीकान्तले हालै ‘कांतारा’ निर्देशक तथा अभिनेता ऋषभ शेट्टीलाई भेटेका छन्।
रजनीकान्तले उनलाई चेन्नईस्थित आफ्नो घरमा भेटेका हुन्।
भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उक्त भेटमा उनले ऋषभलाई सम्मान स्वरुप दोसल्ला ओडाउँदै सुनको सिक्री उपहार दिएका छन्।
ऋषभ होम्बले फिल्म्सका निर्माता कार्तिक गौडासँग रजनीकान्तको निवासमा पुगेका थिए। ऋषभले रजनीकान्तको आशीर्वाद लिदै उनको खुट्टा छोए। ट्वीटरमा कांतारा अभिनेताले केही तस्बिरहरू सार्वजनिक गरेका छन्।
‘धन्यवाद सर। हाम्रो फिल्म कांतारालाई तपाईंले गर्नु भएको प्रशंसाप्रति सधैं आभारी छौं,’ उनले लेखेका छन्।
सेप्टेम्बर ३० मा भारतमा प्रदर्शन भएको कन्नड फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले १६ दिनमा हिन्दी संस्करणमा मात्रै ३८ कराेड ५५ लाख भारतीय रूपैयाँ कमाएकाे छ।
केही दिन अगाडि रजनीकान्तले फिल्म हेरेपछि ट्वीटरमा फिल्मलाई ‘मास्टरपिस’ भन्दै प्रशंसा गरेका थिए।
‘ज्ञातभन्दा अज्ञात छ फिल्म कांतारा, योभन्दा राम्रो फिल्म कसैले बनाउन सक्दैनन्। लेखक, निर्देशक तथा अभिनेता ऋषभलाई बधाई छ। सम्पूर्ण कलाकार र टिमलाई बधाई छ। भारतीय फिल्मको यो उत्कृष्ट कृति हो,’ उनले भनेका थिए।
यो फिल्म प्रदर्शन भएपछि दिन प्रतिदिन चर्चामा आएको हो। यो फिल्म कन्नड र हिन्दी संस्करणमा प्रदर्शन भइरहेको छ।