पति विराट कोहली बसेको होटल कोठाको भिडिओ सार्वजनिक भएपछि बलिउड अभिनेत्री अनुष्का शर्मा आक्रोशित भएकी छन्।
विराट टी-२० विश्वकपका लागि अष्ट्रेलियामा छन्। सूट लगाएका केही व्यक्तिले विराटको सामान देखाउँदै होटल कोठाको भिडिओ सार्वजनिक गरेका छन्। जुन भिडिओ बाहिरिएपछि अनुष्काले गोपनीयतामाथि हस्तक्षेप भएको भन्दै आक्रोश पोखेकी हुन्।
अनुष्काले आफ्नो इन्स्टाग्राम स्टोरीमा भिडिओको स्क्रीनशट सेयर गर्दै लेखेकी छन्, ‘केही घटनाहरू अनुभव गरेकी छु। यो भिडिओले केही नराम्रो कुरा देखाएको छैन तर यो वास्तमै सबैभन्दा नराम्रो कुरा हो। एक मानव जातिको पूर्ण अपमान र उल्लङ्घन हो। जसले सेलिब्रेटी हो त्यसैले यस्तो कुरा भइरहन्छ भनेर सोच्नुहुन्छ भने तपाईंहरू पनि समस्यामा पर्न सक्नुहुन्छ। यदि यो तपाईंको कोठामा भइरहेको छ भने के गर्नुहुन्छ? यस्ता कुरा रोक्नको लागि आत्म-नियन्त्रण अभ्यासले सहयोग गर्छ,’ उनले लेखेकी छन्।
त्यस्तै, विराट कोइलीले पनि आफ्नाे गाेपनीयतामाथि हस्तक्षेप भएकाे भन्दै आक्रोश पोखेका छन्।
उनले इन्स्टाग्राममा भिडिओ सेयर गर्दै लेखेका छन्, ‘म बुझ्छु कि फ्यानहरू आफ्ना मनपर्ने खेलाडीहरू देखेर धेरै खुसी र उत्साहित हुन्छन्। उनीहरूलाई भेट्न उत्साहित हुन्छन् र मैले सधैं यसको प्रशंसा गरेको छु। तर यहाँ यो भिडिओ डरलाग्दो छ। यसले मेरो गोपनीयतामाथि हस्तक्षेप भएको महसुस भइरहेको छ। यदि म आफ्नै होटलको कोठामा गोपनीयता राख्न सक्दिनँ भने म कुनै व्यक्ति या ठाउँबाट के अपेक्षा गर्न सक्छु? यस प्रकारको गोपनीयताप्रति आक्रमण ठिक होइन। कृपया मानिसहरूको गोपनीयताको सम्मान गर्नुहोस्। यसलाई मनोरञ्जनको रूपमा नलिनुहोस्।’
उक्त भिडिओ सार्वजनिक भएपछि केही व्यक्तिहरूले होटलविरुद्ध मुद्दा हाल्न आग्रह गरेका छन्।
अनुष्का र विराट आफ्नो गोपनीयता कायम राख्न सजग रहँदै आएका छन्। उनीहरू आफ्नो छोरी वामिकाको गोपनीयतामा पनि उत्तिकै सजग छन्। उनीहरू आफ्नो छोरीको अनुहार देखाउन समेत अस्वीकार गर्दै आएका छन्।
भिडिओ :