भारतीय अभिनेत्री सामन्था रूथ प्रभु बिरामी भएकी छन्। शनिबार आफ्नो सामाजिक सञ्जालमार्फत् अस्पतालमा बसेको तस्बिर राख्दै उनले आफू बिरामी भएको जानकारी दिएकी हुन्।
उनका अनुसार उनलाई 'मायोसाइटिस' भन्ने रोग लागेको हो। यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ। गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न समेत गाह्रो हुन्छ।
डाक्टरहरूले आफ्नो रोग पूर्ण रूपमा निको हुने बताएको पनि सामन्थाले लेखेकी छन्। आफूलाई केही महिनाअघि नै मायोसाइटिस रोग लागेको उनले बताएकी छन्।
उनले आफू बिरामी भएको खबर सार्वजनिक गरेपछि प्रशंसक र उनका साथीसंगीले उनलाई शिघ्र स्वास्थ्य लाभको शुभकामना दिएका छन्।
सामन्थाको नयाँ फिल्म 'यशोदा' आउँदैछ। गत बिहीबार मात्र आदित्य मुभिजको युट्युब च्यानलमार्फत् ट्रेलर सार्वजनिक गरिएको थियो।
हरि शंकर र हरिश नारायणद्वारा लिखित र निर्देशित फिल्म यशोदा सरोगेसी (भाडाको कोख) को मुद्दामा बनेको छ। भारतमा अहिले व्यावसायिक सरोगेसीमा प्रतिबन्ध लगाइएको छ। त्यसैले यो फिल्मको कथा प्रतिबन्ध लाग्नुअघिको भएको अनुमान गरिएको छ।
यशोदाको भूमिकामा देखिएकी सामन्था गरिब परिवारकी हुन्छिन्। उनी पैसाका लागि अत्याधुनिक सरोगेसी केन्द्रमा पुग्छिन् र आफ्नो कोख भाडामा लगाउँछिन्।
तर यो उनले सोचेभन्दा व्यापक र भयावह हुन्छ। उनी कुनै अप्ठ्यारोमा फस्छिन्।
फिल्मकी मुख्य पात्र यशोदा कमजोर छैनन्। ट्रेलरमा उनी आफ्ना समस्या र दुश्मनसँग लडिरहेकी देखिन्छिन्। यस क्रममा सामन्थाको एक्सन पनि देख्न पाइन्छ।
तमिल र तेलेगू भाषामा बनेको यो फिल्म हिन्दीमा पनि डब भएको छ। यो फिल्म आगामी नोभेम्बर ११ मा रिलिज हुने बताइएको छ।