भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खानको बहुप्रतिक्षीत फिल्म 'आदिपुरुष' को प्रदर्शन मिति परिवर्तन गरिएको छ।
केही समयअघि यो फिल्म जनवरी १२ मा प्रदर्शन हुने बताइएको थियो। जनवरी-फेब्रुअरीमा दक्षिण भारतीय ठूला फिल्म प्रदर्शन हुँदैछन्।
चिरञ्जीवीको ‘वाल्टेयर वीरैया’, नन्दमुरी बालकृष्णको ‘वीर सिम्हा रेड्डी’, ममूटीको ‘एजेन्ट’ र थलापति विजयको ‘वारिसु’ प्रदर्शनको तयारीमा छन्।
यी सबै फिल्मका बीच ‘आदिपुरुष’ ले दक्षिण भारतमा थोरै स्क्रीन पाउने देखिएको थियो। भारतीय सञ्चार माध्यम बलिउड हंगामाका अनुसार यी फिल्मसँग जुध्नबाट जोगिन आदिपुरुषका निर्माताले प्रदर्शन मिति परिवर्तन गरेका हुन्।
फिल्मका निर्देशक ओम राउतले एक विज्ञप्ति जारी गर्दै फिल्म १६ जुन मा प्रदर्शन हुने जानकारी दिएका छन्।
‘जय श्री राम, आदिपुरुष एक फिल्म मात्र होइन भगवान श्री रामप्रतिको भक्ति, गौरवशाली इतिहास र संस्कृतिप्रति हाम्रो प्रतिबद्धताको प्रतीक हो। दर्शकलाई एक शानदार अनुभव दिनको लागि आदिपुरुषको मेकिङमा केही समय दिन आवश्यक देखिएको छ। आदिपुरुष अब जून १६, २०२३ बाट प्रदर्शन हुनेछ। हामी यस्तो फिल्म बनाउनको लागि प्रतिबद्ध छौं, जसले पूरै देशलाई गर्व होस्। यसमा तपाईको सहयोग, माया र आशीर्वादको आवश्यता छ,’ उक्त विज्ञप्तिमा उल्लेख छ।
केही समयअघि मात्र आदिपुरुषको टिजर सार्वजनिक भएको थियो। एक मिनेट ४६ सेकेन्डको टिजरमा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।
टिजर सार्वजनिक भएसँगै प्रशंसाभन्दा धेरै आलोचना भयो। फिल्ममा प्रयोग गरिएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेमसम्म भने।
भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो। सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना समेत भएको थियो। यसैबीच निर्माण टिमले केही परिर्वतन नहुने बताएका थिए। तर अब निर्माण टिमले पुन: भिएफएक्स गर्ने बताएका छन्।
हिन्दी र तेलेगु भाषामा छायांकन हुने आदिपुरुष ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ।
आदिपुरुष थ्री-डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्म टोलीले बताएको छ।
आदिपुरुष करिब ५ सय करोड भारूमा बनिरहेको फिल्म भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।