बलिउड अभिनेता तथा निर्देशक अरबाज खान र मलाइका अरोराका छोरा अरहान खान बलिउडमा डेब्यु गर्दैछन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनले आफ्नै बाबुको फिल्म 'पटना शुक्ला' बाट बलिउडमा डेब्यु गर्न लागेका हुन्।
यस खबरलाई अरबाज खानले पुष्टी गरेका छन्। उनी सोनी एलआइभी वेब सिरिज 'तनाव' मा देखिदैछन्। उक्त सिरिजको प्रमोशनको क्रममा उनले आफ्नो छोरा बलिउडमा डेब्यु गर्न लागेको बताएका हुन्।
अरबाजले छोरासँग काम गर्न उत्साहित रहेको बताउँदै भने, 'मेरो छोरा अरहान अहिले अमेरिकाकाे लङ आइल्याण्ड फिल्म स्कुलमा पढिरहेको छ। उसलाई आफ्नो स्वतन्त्रता मनपर्छ, उसले सिक्दैछ। म उसको लागि धेरै खुसी छु र गर्व गर्छु। म छोरासँग काम गर्न धेरै उत्साहित छु। फिल्म पढिरहेको हुँदा उनीबाट मैले व्यवहारिक कुरा सिक्ने अवसर पाउँछु भन्ने आशा छ।'
यो फिल्मको छायांकन डिसेम्बर २०२२ देखि सुरु हुने बताइएको छ।
अरबाज खानको 'पटना शुक्ला' मा रविना टन्डन, सतीश कौशिक, मानव विज, चन्दन रोय सन्याल, जतिन गोस्वामी, अनुष्का कौशिकलगायत कलाकारको अभिनय रहने छ। यो फिल्म २०२३ मा प्रदर्शन हुनेछ।
अरहानले यसअघि करण जोहरको फिल्म 'रकी ओर रानीको प्रेम कहानी' मा सहायक निर्देशकको रुपमा काम गरेका थिए। यो फिल्ममा सेफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खानले पनि सहायक निर्देशकको रूपमा काम गरेका थिए।
उनी अरबाज र पूर्वपत्नी मलाइकाका एक मात्र सन्तान हुन्। उनीहरूले सन् १९९८ मा विवाह गरेका थिए भने सन् २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए। अरहानको जन्म ९ नोभेम्बर, २००२ मा भएको थियो।