बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपूरको प्रेम सम्बन्धबारे निकै चर्चा हुने गर्छ। उनीहरूले आफ्नो सम्बन्धबारे खुलेआम स्वीकार गर्दै आइरहेका छन्।
मलाइकाले अरबाज खानसँग सम्बन्ध विच्छेद गरेपछि उनीहरूको प्रेम सम्बन्धको चर्चा चलेको हो। ४९ वर्षीया मलाइका र ३७ वर्षीय अर्जुनको उमेर अन्तरले पनि उनीहरूको सम्बन्धमा धेरैले चासो दिइरहेका हुन्छन्। अर्जुन उमेरमा मलाइकाभन्दा १२ वर्ष कान्छा छन्।
लामो समयदेखि उनीहरूले विवाह गर्न लागेको चर्चा पनि हुँदै आइरहेको छ। यसैबीच मलाइकाले इन्स्टाग्राममा एक पोस्ट गर्दैै बिहेको संकेत दिएकी छन्।
उनले एक तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मैले हुन्छ भनेँ।’ साथमा उनले पानको पात अंकित दुई ओटा औंठीको इमोजी पनि सेयर गरेकी छन्।
उनको उक्त पोस्टमा धेरैले बिहे गर्न लागेको भन्दै बधाई दिइरहेका छन्।
तर मलाइकाले इन्गेजमेन्टबारे खुलेर कुरा गरेकी छैनन्। न त उनले उक्त पोस्ट अर्जुन कपूरलाई ट्याग गरेकी छन्।
केही समयअघि अर्जुन कपूर करण जोहरको शो ‘कफी विथ करण’मा सोनम कपूरसँग देखिएका थिए। उक्त शोमा उनले अहिले बिहे गर्न तयार नभएको बताएका थिए।
उनले करणसँग विवाहको बारेमा कुराकानी गर्दै भनेका थिए, ‘इमानदारीताका साथ भन्ने हो भने म अहिले विवाहको लागि तयार छैन। कोभिड र लकडाउनबीच दुई वर्षमा धेरै कुरा भयो। मलाइकाको नि आफ्नो जीवन र परिवार छ। म पनि आफ्नो करिअरमा केन्द्रित हुन चाहन्छु। म रियलस्टिक मान्छे हुँ। यसमा लुकाउनु पर्ने कुरा छैन।’
मलाइका र अर्जुन ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्। उनीहरूले २०१९ मा आफूहरू प्रेम सम्बन्धमा रहेको खुलासा गरेका थिए।
अर्जुनभन्दा पहिला मलाइका सलमान खानको भाइ अरबाज खानको श्रीमती थिइन्। उनीहरूले २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए। मलाइका र अरबाजका एक छोरा अरहान छन्।