बलिउडका चर्चित सिक्वेल मध्ये एक हो फिल्म ‘हेरा फेरी’। ‘हेरा फेरी’ को पहिलो भाग सन् २००० मा प्रदर्शन भएको थियो भने सन् २००६ मा यसको दोस्रो भाग ‘फिर हेरा फेरी’ प्रदर्शन भयो।
दुवै संस्करणमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीलाई दर्शकले निकै मन पराएका थिए। लामो समयदेखि दर्शक यसको तेस्रो भागको पर्खाइमा थिए।
हालै परेश रावलले ट्वीट गर्दै ‘हेरा फेरी’को तेस्रो भागमा कार्तिक आर्यन पक्का भएको जानकारी दिए। यो खबर बाहिर आउने बित्तिकै अक्षयका प्रशंसक निराश भएका छन्।
दर्शकहरूले ‘हेरा फेरी’ अक्षय, परेश र सुनिलको फिल्मको रुपमा लिएका छन्। त्यसैले उनीहरूले ‘हेरा फेरी’को तेस्रो भागमा अक्षय कुमारको माग गरिरहेका छन्।
ट्विटरमा ‘नो अक्षय, नो हेरा फेरी’ ट्रेन्ड भइरहेको छ। उनीहरूले अक्षयबिना ‘हेरा फेरी ३’ फ्लप हुने समेत बताइरहेका छन्। सामाजिक सञ्जालको ट्रेन्डअनुसार यो फिल्मको तेस्रो भागमा कात्तिक आर्यनलाई देख्न चाहँदैनन्।
अक्षयले हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै आफू ‘हेरा फेरी’ को तेस्रो भागमा नहुनुका कारण खुलाएका छन्।
‘म हेरा फेरीको भाग रहेँ। यसमा दर्शकको याद जोडिएको छ र मसँग पनि यसको राम्रा यादहरू छन्। मलाई दु:ख लाग्छ यतिको वर्षसम्म हामीले तेस्रो भाग बनाएनौं। मलाई फिल्मको प्रस्ताव आएको थियो तर स्क्रीनप्ले र स्क्रिप्टबाट सन्तुष्ट भइनँ। त्यसैले म यो फिल्मबाट अलगिएँ,’ उनले भने।
भारतीय सञ्चारमाध्यम कोइमोइका अनुसार अक्षय कुमार र निर्माता फिरोज नाडियाडवालाबीच ‘हेरा फेरी’ को तेस्रो भागलाई लिएर निरन्तर कुराकानी भएको थियो। तर अक्षयले फिल्मका लागि ९० करोड पारिश्रमिक मागेपछि अक्षयलाई हटाउँदै कार्तिकलाई अनुबन्ध गरिएको हो। कार्तिकले ३० करोड पारिश्रमिक लिएको बताइएको छ।
यसअघि ‘भूल भुलैया २’ मा पनि कार्तिकले अक्षयलाई रिप्लेस गरेका थिए। यो फिल्म बक्स अफिसमा सफल भएको थियो।