बलिउडका चर्चित सिक्वेल मध्ये एक हो फिल्म ‘हेरा फेरी’। ‘हेरा फेरी’ को पहिलो भाग सन् २००० मा प्रदर्शन भएको थियो भने सन् २००६ मा यसको दोस्रो भाग ‘फिर हेरा फेरी’ प्रदर्शन भयो।
दुवै संस्करणमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीलाई दर्शकले निकै मन पराएका थिए। लामो समयदेखि दर्शक यसको तेस्रो भागको पर्खाइमा थिए। हालै एक अन्तरवार्तामा अक्षयले आफू ‘हेरा फेरी ३’ मा नहुने बताएका छन्।
अक्षय कुमारलाई हटाएर फिल्ममा कार्तिक आर्यनलाई कास्ट गरिएको खबरपछि फिल्मको चर्चा भइरहेको छ।
सामाजिक सञ्जालमा अक्षयको माग भइरहेको छ। ट्विटरमा ‘नो अक्षय, नो हेरा फेरी’ ट्रेन्ड भइरहेको छ। उनीहरूले अक्षयबिना ‘हेरा फेरी ३’ फ्लप हुने समेत बताइरहेका छन्। सामाजिक सञ्जालको ट्रेन्डअनुसार यो फिल्मको तेस्रो भागमा कार्तिक आर्यनलाई देख्न चाहँदैनन्।
यसैबीच कार्तिकले फिल्म ‘हेराफेरी ३’ मा अक्षय कुमारको राजु भूमिका नगर्ने भएका छन्।
भारतीय सञ्चारमाध्यम ईटाइम्सको रिपोर्टअनुसार फिल्ममा कार्तिक नयाँ भूमिकामा देखिँदैछन्। अक्षय कुमारले ‘हेराफेरी ३’ नगर्ने पक्का भएपछि फिल्मबाट उनको ‘राजु’ भूमिकालाई हटाइएको छ।
अब फिल्ममा कार्तिक आर्यन नयाँ भूमिकामा देखिनेछन्। उनको भूमिका नयाँ र अलग हुने भारतीय सञ्चार माध्यम दैनिक जागरणमा उल्लेख छ।
अनिस बाज्मी निर्देशन गर्ने फिल्ममा परेश रावल र सुनिल शेट्टी फेरि देखिनेछन्।
यसै वर्ष प्रदर्शन भएको फिल्म ‘भूल भुलैया २’ मा पनि कार्तिकले अक्षयलाई रिप्लेस गरेका थिए। यो फिल्म बक्स अफिसमा सफल भएको थियो। सन् २००७ मा प्रदर्शन भएको ‘भूल भुलैया’ मा अक्षय कुमार थिए।
‘भूल भुलैया २’ प्रदर्शन हुनुअघि कार्तिकको विरोध भइरहेको थियो। तर फिल्ममा उनी फरक भूमिकामा देखिए। जसलाई दर्शकले रुचाएका थिए।