बलिउड फिल्म राम्रो कमाइ गर्न बक्स अफिसमा संघर्ष गरिरहेका छन् भने दक्षिण भारतीय फिल्म 'कांतारा' ले बक्स अफिसमा तहल्का मच्चाइ रहेको छ।
फिल्म रिलिजको डेढ महिना हुँदा समेत कांताराले दर्शकको साथ पाइरहेको छ। यो फिल्मले राम्रो कमाइ गर्नुको साथै सकारात्मक समीक्षा पाएको छ। भारतीय समीक्षकहरूले यो फिल्मलाई वर्षकै उत्कृष्ट फिल्म बताएका छन्।
‘कांतारा’ कन्नड भाषामा मात्र नभई हिन्दी र अन्य भाषामा पनि रुचाइएको छ। फिल्मले हिन्दी भाषामा ७७ करोड ५७ लाख भारु, तमिल भाषामा ८ करोड ९४ लाख भारु, तेलुगु भाषामा ४१ करोड ४ लाख भारु, मलयालम भाषामा १० करोड ४२ लाख भारु र कन्नड भाषामा १५४ करोड १९ लाख भारु कमाएको छ।
भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार फिल्मले अहिलेसम्म २९२ करोड १६ लाख भारु नेट कमाएको छ भने ३३८ करोड १६ लाख भारु ग्रस कमाएको छ।
ऋषभ शेट्टीले निर्देशन गरेको फिल्म ‘कांतारा’ले ‘केजिएफ’ को रेकर्ड तोड्दै कन्नड फिल्ममा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको छ। पहिलो स्थानमा ‘केजिएफ २’ छ। 'केजिएफ २' ले १ हजार २ सय कराेड कमाएकाे छ।
भारतीय सञ्चार माध्यमका अनुसार यो फिल्म १६ करोड लागतमा बनेको हो।
ऋषभ शेट्टीले यो फिल्म निर्देशन गर्नुको साथै अभिनय पनि गरेका छन्। फिल्ममा उनीसँगै किशोर, अच्युत कुमार, प्रमोद शेट्टी र सप्मी गोवडालगायत कलाकारको मुख्य भूमिका छ।