बलिउड, टेलिभिजन तथा रंगमञ्च कलाकार विक्रम गोखलेको मृत्यु भएको छ।
भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार शनिबार पुणेमा उनको मृत्यु भएको हो। उनी ७७ वर्षका थिए।
लामो समयदेखि बिमारी रहेका उनी दीनानाथ मंगेशकर अस्पतालमा उपचाररत थिए।
उनको अन्तिम संस्कार शनिबार साँझ ६ बजे पुणेको वैकुंठ श्मशान घाटमा गरिएको छ। उनको अन्तिम संस्कारमा महाराष्ट्रका मन्त्री चन्द्रकान्त दादा पाटिलदेखि थुप्रै कलाकारहरू उपस्थित थिए।
उनले अभिताभ बच्चनसँग ‘खुदा गवाह’, सलमान खानसँग ‘हम दिल दे चुके सनम’ र अक्षय कुमारसँग ‘भूल भुलैया र मिशन मंगल’ जस्ता यादगार फिल्ममा काम गरेका छन्।
विक्रम गोखलेलाई सन् २०१० मा मराठी फिल्ममा उनको अभिनयलाई लिएर सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार दिइएको थियो।
उनले ‘घर आजा परदेशी, अल्पविराम, जाना ना दिल से दूर, संजीवनी, इंद्रधनुष’ जस्ता चर्चित टेलिश्रृंखलामा काम गरेका थिए।