विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म 'द कश्मीर फाइल्स' लाई लिएर दिएको बयानका कारण इजरायली फिल्म निर्देशक नाडव लपिड विवादमा आएका छन्।
सोमबार साँझ भारतको गोवामा आयोजित ‘इन्टरनेशनल फिल्म फेस्टिभल अफ इण्डिया’ मा ‘द कश्मीर फाइल्स’ लाई अश्लील र प्रोपोगान्डा फैलाउने भनेपछि उनी विवादमा तानिएका हुन्।
५३ औं संस्करणको समापन समारोहमा लपिडले उक्त फिल्मलाई हैरानी गराउने फिल्म भन्दै महोत्सवमा ठाउँ दिन उचित नरहेको बताएका थिए। उनी उक्त महाेत्सवका जुरी समेत हुन्।
‘हामी सबै कश्मीर फाइल्स हेरेर विचलित र स्तब्ध भएका छौं। यो फिल्मले हामीमा भ्रम फैलाउँछ। यो फिल्म अश्लील छ। यो फिल्मलाई महोत्सवमा स्थान दिनु नै उचित होइन,’ उनले भने।
उनको यस बयानपछि भारतमा विवाद भइरहेको छ। भारतीय कलाकारहरूले निर्देशकले माफी माग्न पर्ने माग गरिरहेका छन्।
फिल्मका अभिनेता अनुपम खेरले लपिडको बयानप्रति विरोध जनाउँदै ट्वीटरमा लेखेका छन्, ‘झुटको कद जतिसुकै उचो भए पनि सत्यको तुलनामा सधैं सानो हुन्छ।’
यस मुद्धामा दिल्लीका वकिल विनीत जिन्दलले इजरायली निर्देशकविरुद्ध उजुरी दर्ता गरेका छन्।
यो फिल्म गत ११ मार्चमा प्रदर्शन भएको थियो। कश्मीरी पण्डितहरूको ‘कथित राष्ट्रवाद’ कथामा आधारित फिल्म प्रदर्शन बेलामा पनि विवादमा परेको थियो। फिल्ममा राजनीति हाबी भएको आरोप लागेको थियो।