बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'पठान' विवादमा फसेको छ।
फिल्ममा समावेशी गीत 'बेशरम रंग' सार्वजनिक गरेपछि बहिष्कारको माग उठिरहेको छ। उक्त गीतमा अभिनेत्री दीपिका पादुकोणको पहिरन र पहिरनको रंगले हिन्दु धर्मको अपमान गरेको भन्दै आपत्ति जनाइएको हो।
पछिल्लो समय सामाजिक सञ्जालमा ‘बायकट पठान’ ट्रेन्ड भइरहेको छ। यसैबीच शाहरूखले ‘पठान’ बहिष्कार गर्नुपर्छ भन्नेलाई जवाफ दिएका छन्। उनले राज्यलाई विभाजित गर्न खाजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
२८ औं कोलकाता अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटन कार्यक्रममा भाग लिन पुगेका शाहरूखले भने, ‘संसारले चाहे जेसुकै गरोस्, म र तपाईं जति पनि सकारात्मक मान्छे छौं, सबै जिउँदा छौं।’
उनले सामाजिक सञ्जालप्रति असन्तुष्टि जनाउँदै भने, ‘फिल्म र सामाजिक सञ्जाल आफ्नो अभिव्यक्ति, मानव अनुभव र भावनालाई व्यक्त गर्ने सजिलो माध्यम हो। तर सामाजिक सञ्जालमा हाम्रो समयको सामूहिक कहानीलाई आकार दिन थालिएको छ। सामाजिक सञ्जालले फिल्मलाई नकारात्मक असर गर्छ। मलाई लाग्छ अब फिल्मले निकै महत्वपूर्ण भूमिका निभाउनु पर्छ।’
उनले थप्दै भने, ‘सामाजिक सञ्जालले मानिसलाई निम्न स्तरको बनाइरहेको छ। मैले कतै पढेको थिएँ। नकारात्मक कुराले सामाजिक सञ्जालको प्रयोगलाई बढाउँछ। यस कारण व्यावसायिक मूल्य पनि वृद्धि हुन्छ। यस्तो कुराले सामूहिक विचारलाई विभाजनकारी र विनाशकारी बनाउँछ। फिल्मले अलग-अलग कथाहरू सामान्य तरिकाबाट मानव स्वभावलाई देखाउँछ। फिल्मले एकअर्कालाई राम्रोसँग बुझ्ने अवसर दिन्छ। फिल्मको माध्यमबाट अहिले पुरै दुनियाँ हेर्न आवश्यक छ। हर्ने मात्र होइन फिल्मबाट अलग-अलग संस्कृति, रंग, जाति र धर्मलाई राम्रोसँग बुझ्नुपर्छ।’
उनले आफ्नो फिल्मको एक संवाद बोल्दै भने, ‘आफ्नो कुर्सीको पेटी बाँध्नुहोस्, मौसम बिग्रनेवाला छ।’
उनले फिल्मी शैलीमा दिएको बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।