दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म 'पुष्पा' ले भारतीय बक्स अफिसमा तहल्का मच्चाएकाे थियो।
एक वर्षअघि प्रदर्शन भएको फिल्मले भारतीय बक्स अफिसमा ३५० करोड भारु कमाएको थियो।
फिल्म प्रदर्शनको एक वर्ष पूरा भएको अवसर पारेर रुसमा ८ डिसेम्बरदेखि फिल्म प्रदर्शन गरिएको थियो।
भारतीय सञ्चार माध्यम ट्रयाकटलिउडका अनुसार रुस बक्स अफिसमा फिल्म सुपरफ्लप सावित भएको छ। यति मात्र होइन फिल्म रिलिजअघि रुसमा प्रमोशन र डबिङका लागि गरिएको खर्च समेत नोक्सान भएको छ।
रुसमा ८ डिसेम्बरदेखि रिलिज भएको फिल्म ३ दिनमै हलबाट उतारिएको छ। निर्माण टिमलाई प्रमोशनमा खर्च गरिएको ३ करोड नोक्सान भएको हो।
फिल्म प्रमोशनको लागि अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दाना निर्माण टिमसँग रुस पुगेका थिए। उनीहरूको फोटो र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
अल्लु अर्जुन र रश्मिकाले ‘पुष्पा २’ को छायांकन सुरु गरिसकेका छन्। सुकुमारले निर्देशन गर्ने फिल्मको बजेट ४५० करोड रहेको बताइएको छ।
'पुष्पा' मा जुन मोडमा कहानी छोडिएको थियाे, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। फिल्म 'पुष्पा' को सफलता भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ।
यो फिल्मको मागलाई मध्यनजर गर्दै निर्माताले विदेशी राइट्स अधिकारको लागि महंगो मूल्य तोकेका छन्। ‘पुष्पा २’ का निर्मातालाई यस फिल्मबाट धेरै फाइदा हुुने देखिएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार निर्माताले 'पुष्पा: द रुल' को विदेशी राइट्स ८० करोड भारुभन्दा बढी तोकेका छन्।
सोही मूल्यमा बिक्री भयो भने 'पुष्पा २' ले प्रदर्शनभन्दा पहिला नै एसएस राजामौलीको फिल्म 'आरआरआर' को रेकर्ड तोड्ने छ। भारतीय सञ्चारमाध्यमका अनुसार 'आरआरआर' को विदेशी राइट्स ७० करोड भारुमा बिक्री भएको थियो।