बलिउड अभिनेता विक्की कौशलको हालै प्रदर्शन भएको फिल्म 'गोविन्दा नाम मेरा' ले तारिफ बटुलिरहेको छ।
कमेडी फिल्ममा विक्कीलाई दर्शकले रुचाएका छन्। यसअघि उनी ‘राजी, उडी, सरदार उधम’ जस्ता गम्भीर फिल्ममा देखिएका थिए। यसैबीच अभिनेता विक्कीले बक्स अफिसमा फ्लप भइरहेका फिल्मबारे अभिव्यक्ति दिएका छन्।
'राम्रो फिल्मले राम्रो कमाइ गरिरहेको छ। दर्शकहरूले निकै सहज बनाइदिनु भएको छ। यदि फिल्म चल्यो भने दर्शकलाई त्यसको भाषा र शैलीले केही फरक पार्दैन। उनीहरू फिल्मलाई उत्तिकै माया दिन्छन्,' उनले भने।
उनले पहिला हिन्दी फिल्म मार्केटिङको कारण चल्ने बताउँदै भने, ‘यदि तपाईंहरूले ‘भूल भुलैया २, केजिएफ २, आरआरआर, दृश्यम २’ हेर्नु भएको छ भने यी फिल्मका एकै भाषा र शैली छैन। न उनीहरूको मार्केटिङ योजना एकै खालको छ। तीन वर्षअघि जति मार्केटिङ गर्याे त्यति फिल्म चल्थ्यो तर अब यस्तो हुँदैन। यदि दर्शकले कुनै फिल्म मन पराए भने हेर्छन्।’
यो वर्ष ठूला बजेटका बलिउड फिल्म ‘लाल सिंह चड्ढा, रक्षाबन्धन, शमशेरा र सम्राट पृथ्वीराज’ फ्लप भएका थिए।
विक्की २०२३ मा मेघना गुलजारद्वारा निर्देशित फिल्म ‘साम बहादुर’मा देखिनेछन्। योसँगै उनी लक्ष्मण उटेकरको आगामी फिल्ममा पनि देखिनेछन्।