भारतीय अभिनेत्री तुनिशा शर्मा आत्महत्या प्रकरणमा उनका पूर्व प्रेमी शीजान मोहम्मद खान प्रक्राउ परेका छन्। उनीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरिएको छ।
तुनिशाका परिवारले खानविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। यस केसमा प्रहरीले खानसहित १८ जनासँग सोधपुछ गरेको छ जसमा तुनिशाको नजिकका साथी सामेल छन्। शीजानसँग प्रहरीले सोमबार सोधपुछ गरेको थियो।
उनलाई मेकअप कोठामा समेत लगिएको भारतीय सञ्चार माध्यममा उल्लेख छ जहाँ तुनिशा मृत भेटिएकी थिइन्।
शीजानलाई अदालतले चार दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको थियो। भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार शीजानको हिरासत अवधि आज समाप्त हुँदैछ। प्रहरीले उनलाई आज अदालतमा पेश गर्नेछन्। प्रहरी जाँच बाँकी नै रहेको कारण उनको हिरासत अवधि बढाउन अदालतमा अपिल गरिने बताइएको छ।
यसैबीच तुनिशालाई शीजानले अस्पताल लगिरहेको भिडिओ भाइरल भइरहेको छ। नयाँगाउँ अस्पतालको सार्वजनिक सिसिटिभी फुटेजमा तुनिशालाई शीजान र दुई साथीले अस्पताल पुर्याएको देख्न सकिन्छ।
अस्पतालका डाक्टर सुरेन्द्र पलले भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै भने, ‘तुनिशालाई अस्पताल ल्याउनेहरूले ढोका ढकढक्याउँदा उनले नखोलेपछि ढोका फोडेर भित्र पसेको बताएका थिए। उनीहरूले झुन्डिएको अवस्थामा भेटेपछि अस्पताल ल्याएका थिए।’
तुनिशाको शव मृत्यु भएको तीन दिनपछि मंगलबार अन्त्येष्टी गरिएको छ।
शनिबार सुटिङ सेटमै तुनिशाले आत्महत्या गरेकी थिइन्। भारतीय सञ्चार माध्यमका अनुसार उनी एक मेकअप कोठाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएकी हुन्। उनलाई तत्काल नजिकैको अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृत घोषित गरेका थिए।
प्रहरीका अनुसार नयाँगाउँको रामदेव स्टुडिओमा छायांकन भइरहेको थियो। ब्रेकको समयमा अभिनेत्री तुनिशा पंखामा झुन्डिएकी हुन्।
चन्डीगढमा जन्मिएकी तुनिशाले २०१५ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो। त्यसपछि उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाबः महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिशृंखलामा काम गरेकी थिइन्।
उनले २०१६ मा बलिउडमा पनि डेब्यु गरेकी थिइन्। उनको पहिलो फिल्म ‘फितुर’ हो। उनले ’बार–बार देखो’ र ’दबंग ३’ मा समेत अभिनय गरेकी छन्।