भारतीय अभिनेता गुरमीत चौधरी आफ्नी श्रीमती देबिना बनर्जीलाई भिडबाट बचाउँदा घाइते भएका छन्।
३० डिसेम्बरमा गुरमीतले मुम्बईमा एक प्रस्तुति दिएका थिए। उक्त प्रस्तुति दिएर फर्किने क्रममा भिडबाट आफ्नो श्रीमतीलाई बचाउँदा उनी घाइते भएका हुन्।
उनीहरू बाहिर निस्कँदा दर्शकको भिड थियो। दर्शकहरू फोटो खिच्न भन्दै उनीहरूतर्फ बढेपछि उनकी श्रीमतीलाई भिडबाट जोगाउन हम्यहम्य परेको थियो। यसै क्रममा उनको खुट्टामा चोट लागेको हो।
गुरमीतले आफूलाई चोट लागे पनि श्रीमतीलाई कारसम्म सकुशल पुर्याएका थिए।
भारतीय फोटोग्राफर भाइरल भयानीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा भिडिओ सेयर गर्दै लेखेका छन्, ‘बलिउड अभिनेता गुरमीत चौधरीले आफ्नी पत्नी देबिना बनर्जीलाई भिडबाट जोगाउँदा उनलाई चोट लागेको छ। उनकी श्रीमती र फ्यानहरू सबै सुरक्षित छन्।’
यसै घटनाबारे कुराकानी गर्दै गुरमीतले भारतीय सञ्चार माध्यमलाई भने, ‘प्रस्तुतिपछि धेरै फ्यानहरू स्टेज पछाडि भेला भए। त्यहाँ ठूलो भिड थियो र उनीहरू तस्बिर खिच्न स्टेजमा पुगेका थिए। आफैलाई सन्तुलनमा राख्न गाह्रो भयो र मेरो खुट्टा पनि मोडियो। देबिना र अन्य फ्यानहरू पनि घाइते हुने देखिए पनि बचाएर बाहिर निस्कन सफल भएँ।’
यतिबेला गुरमीत सामान्य चोट देखाएको भन्दै ट्रोल भइरहेका छन्।
गुरमीत भारतीय टेलिशृंखलाका चर्चित अभिनेता हुन्। उनले ‘खामोशिया, पल्टन, द वाईफ, मिस्टर एक्सलगायत फिल्ममा पनि अभिनय गरेका छन्।