बलिउड अभिनेता सुशान्त सिंह राजपूतको १४ जुन २०२० मा मृत्यु भएको थियो। उनी बान्द्रास्थित फ्ल्याटमा मृत फेला परेका थिए।
समुद्रतिर फर्किएको चार बेडरूम भएको उक्त फ्ल्याट आकर्षकमध्ये पर्छ। सुशान्तको मृत्युपछि फ्ल्याट खाली थियो। मानिसहरू उक्त फ्ल्याटमा बस्न डराइरहेका थिए।
केही समयअघि रियल स्टेट ब्रोकर रफिक मर्चेन्टले यो फ्ल्याट मासिक पाँच लाख भारूमा भाडामा लगाउन विज्ञापन गरेका थिए। तर फ्ल्याट सुशान्तको भन्ने थाहा पाएपछि सम्पर्क गरेका ग्राहकहरू पनि नआउने समस्या भएको उनले बताएका थिए।
भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार सुशान्तको यस फ्ल्याट भाडामा गएको छ।
'एक व्यक्ति यो फ्ल्याट लिन तयार भएका छन्। यस फ्ल्याटको लागि उनले हरेक महिना ताेकेकाे भाडा तिर्ने सहमति भएको छ। उनले ३० लाख भारू अग्रिम भुक्तानी गरेका छन्। यो ६ महिनाको डिपोजिट पैसा हो,’ ब्रोकर रफिकले भने।
रफिकका अनुसार यो फ्ल्याट विदेश बस्ने भारतीयको हो। उनले अरू कुनै सेलेब्रेटीलाई भने यो फ्ल्याट नदिने भनेका थिए। त्यसैले फ्ल्याट मालिकको प्राथमिकतामा व्यापारी भएको बताइएको छ।
यसअघि सुशान्तले यो फ्ल्याट साढे चार लाख भारू महिनाको तिरेर बसेका थिए। ३६०० वर्गफीटमा फैलिएको यो अपार्टमेन्टमा चार वटा बेडरूम छ र बरन्डा पनि छ।
उनी सन् २०१९ मा यहाँ सरेका थिए। फ्ल्याटमा उनकी प्रेमिका रिया चक्रवर्ती र अरू केही साथीहरू पनि बस्दै आएका थिए।