एसएस राजामौली निर्देशित फिल्म 'आरआरआर' को 'नाटु नाटु' गीतले अमेरिकामा गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ।
उक्त अवार्ड जितेपछि भारतीय फिल्मकर्मीहरूले निर्माण टिमलाई बधाई दिइरहेका छन्। यो गीत सार्वजनिक हुने बित्तिकै चर्चामा आएको थियो।
यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन्। गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन्।
यसको सबभन्दा धेरै रूचाइएको पाटो नृत्य हो। रामचरण र एनटिआरले जोडी बाँधेर गरेका हुकस्टेपको झलकले नै संसारभरका धेरैलाई नचाएको थियो।
‘बाहुबली’ का निर्देशक राजमौलीको फिल्मले सामान्यतया यसै पनि चर्चा पाउँछ। तर यो फिल्मले यही गीतको नृत्यका कारण धेरै नै चर्चा पाइरहेको छ।
रामचरण र एनटिआरको ऊर्जाले उनीहरूका प्रशंसकलाई खुबै लोभ्याएको पनि छ।
तर यी दुवै अभिनेता हठी स्वाभावका मानिन्छन्। हत्तपत्त कसैको सुन्दैनन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरू नाचको अभ्यासमा सितिमिति आउँदैनन्। बरू नाचको डिभिडी भिडिओ मगाउँछन्। अनि आ–आफ्नै तरिकाले सिक्छन्। त्यसपछि एकैपटक सेटमा आएर नाच्छन्।
रामचरण र एनटिआर यो मामिलामा अगाडि नै छन्। उनीहरू मात्र होइन, अभिनेत्री समन्था र अभिनेता जोनी मास्टरको पनि यस्तो गर्नेमा नाम अग्रस्थानमा आउँछ।
अब यस्तोमा एकअर्काको कम्मरै समातेर जोडी भएर नाच्नुपर्ने यो गीतका स्टेप रामचरण र एनटिआरले कसरी सिके त?
सञ्चारमाध्यम गल्ट डटकमका अनुसार आरआरआर फिल्मका लागि भने उनीहरूले यसरी डिभिडी मगाएर मनमौजी गर्न पाएनन्।
उनीहरूलाई कोरियोग्राफर प्रेम रक्षितले स्टुडियोमै आउनुपर्ने भनेका थिए। त्यो पनि एक-दुई दिन होइन, सात दिनसम्म।
दुई सुपरस्टारले हात बाँधेर नाचेको दृश्य सही ढंगमा प्रस्तुत होस् भन्ने प्रेमको चाहना थियो। किनकी यहाँ राम्रो नचाउनुभन्दा पनि दुई जनाको तालमेल ठीक समयमा ठीक तरिकाको हुन जरूरी थियो।
यसका लागि रामचरण र एनटिआरलाई दैनिक चार घन्टा अभ्यास गराइएको थियो।