दक्षिण भारतीय चर्चित निर्देशक एसएस राजामौली यतिबेला आफ्नो फिल्म 'आरआरआर' लिएर चर्चामा छन्।
उनी आफ्नो फिल्म ‘आरआरआर’ लिएर विभिन्न देश पुगिरहेका छन्। यसै क्रममा राजामौलीले ‘अवतार‘का निर्देशक जेम्स क्यामरूनलाई भेटेका थिए।
उक्त भेटमा जेम्सले ‘आरआरआर’ को तारिफ गरेका थिए। निर्देशक राजामौलीले आफ्नो खुशी सामाजिक सञ्जालमा सेयर गरेका छन्।
जेम्स क्यामरूनले 'आरआरआर' मन परेको बताउँदै आफ्नी पत्नी सुजीसँग दोस्रो पटक फिल्म हेरेको निर्देशक राजामौलीले उल्लेख गरेका छन्।
‘सर, मलाई अहिलेसम्म विश्वास लागिरहेको छैन कि तपाईंले हाम्रो फिल्मको १० मिनेटसम्म विश्लेषणा गर्नुभयो। तपाईंले भनेजस्तै म दुनियाँको सबैभन्दा उच्च स्थानमा छु, तपाईंहरूलाई धन्यवाद,’ उनले लेखेका छन्।
१० जनावरीमा फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले अमेरिकामा गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ।
निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा राम चरण, जुनियर एनटीआर र आलिया भट्ट प्रमुख रोलमा छन्। यस्तै अजय देवगनले अतिथि भूमिका निभाएका छन्।
तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जिवनीबाट प्रभावित ‘आरआरआर’लाई दर्शकले अत्यधिक मन पराएका छन्।
‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो।
फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिशविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिश राजमा सिपाही कसरी एकअर्काको साथी बन्छन् र ब्रिटिशविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो।