बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सरोगेसी (भाडाको कोख) बाट आमा बन्नुको कारण खुलाएकी छन्।
४० वर्षिया प्रियंकाले ‘ब्रिटिश वोग’ म्यागेजिनमा आफ्नी छोरी मालती मेरीसँग फोटोसुट गराएकी थिइन्। यसै क्रममा उनले मालतीको आमाको रूपमा आफ्नो अनुभव सेयर गरेकी छन्।
सरोगेसीमार्फत छोरीलाई जन्म दिँदा उनले आलोचना खेप्नु परेको थियो।
‘मेरो बारेमा कुरा गरेको भए केही हुने थिएन तर मानिसहरूले मेरी छोरीलाई निसाना बनाए। यस्तो कुराबाट उनलाई टाढा राख्छ चाहन्छु,’ उनले भनिन्।
मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले उनले सरोगेसीको सहारा लिएको बताएकी छिन्।
‘मलाई मेडिकल जटिलता थियो, मेरो लागि यो आवश्यक थियो र म आभारी छु। म यस्तो स्थितिमा थिएँ यदि मलाई बच्चा चाहिन्छ भने सरोगेसी नै उचित थियो। मेरो सरोगेट दयालु र मायालु थिइन्। उनले ६ महिनासम्म हाम्रो छोरीको ख्याल राखिन्,’ उनले भनिन्।
जन्मिँदै स्वास्थ्यमा समस्या देखिएपछि प्रियंका र निक जोनसले आफ्नी छोरीलाई एनआइसियू (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा एक सय दिन राखेका थिए।
उनीहरूले आ-आफ्नो संस्कृतिअनुरूप छोरीको नाम राखेका थिए। हिन्दु नाम मालती र अंग्रेजी नाम मेरी राखेका छन्।
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार मालती संस्कृत शब्द हो जसको अर्थ वासनादार फूल र चन्द्रमा भन्ने लाग्छ। त्यस्तै फ्रेन्च शब्द मेरीको अर्थ समुद्रको तारा भन्ने हुन्छ। छोरीको थरमा आमा र बाबु दुवैको चोपडा र जोनस राखेको बताइएको छ।
निक र प्रियंकाले सन् २०१८ मा विवाह गरेका हुन्। प्रियंका आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेपछि उनीहरूको भेट भएको थियो। उनीहरूको भेट सन् २०१७ को ‘मेट गाला’ मा भएको थियो।
यसलगत्तै सन् २०१८ अगस्टमा उनीहरूको इन्गेजमेन्ट भएको थियो भने त्यही साल डिसेम्बरमा उनीहरूले क्रिस्चियन र पन्जाबी परम्पराअनुसार बिहे गरेका थिए।