बलिउड अभिनेत्री सारा अली खान बायोपिक फिल्म 'ऐ वतन मेरे वतन' मा देखिने भएकी छन्।
सोमबार टिजर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
फिल्ममा सारा स्वतन्त्रता आन्दोलनको क्रममा एक गुप्त रेडियो चलाउने स्वतन्त्रता सेनानी उषा मेहताको भूमिकामा देखिएकी छन्। उनी पहिलो पटक बायोपिक फिल्ममा देखिँदैछिन्।
यसअघि उनले केदारनाथ, सिम्बा, कुली नम्बर १ र अतरंगी रे जस्ता कमर्सियल फिल्ममा काम गरेकी छन्।
फिल्ममा १९४२ भारत छोडो आन्दोलनको परिवेशमा देखाइएको छ। यो सत्य घटनाबाट प्रेरित एक थ्रिलर फिल्म हो। फिल्मको कथा दरव फारूकी र कन्नन अय्यरले तयार पारेका हुन्।
करण जोहरको निर्माणमा बनेको फिल्ममा सारासँगै एलेक्स ओनेल, रिचर्ड भक्ति क्लेइनलगायत कलाकारको अभिनय छ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका छायांकन पूरा भइसकेको छ।
कन्नन अय्यरले निर्देशन गरेको फिल्म अमेजन प्राइम मुभीमा रिलिज हुनेछ।