बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको फिल्म 'पठान' ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ।
भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा विश्वभरबाट तीन सय १३ करोड भारू कमाएको छ। योसँगै पठानले छोटो समयमै तीन सय करोड भारू कमाउने नयाँ रेकर्ड राखेकाे हो।
यो फिल्मले विश्वभरबाट पहिलो दिन एक सय ६ करोड भारू कमाउँदै पहिलो दिन सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो। फिल्मले दोस्रो दिन एक सय १३ करोड ६० लाख भारू कमाउँदै अर्काे रेकर्ड राखेको थियो। तेस्रो दिन पनि यसले नयाँ रेकर्ड राखेको हो।
हिन्दी, तमिल र तेलेगू भाषामा गरी भारतमा मात्र फिल्मले तीन दिनमा दुई सय १ करोड भारू कमाएको छ भने भारतबाहिरबाट एक सय १२ करोड भारू कमाएको हो।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
पठानमा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्।
शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।