बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड कमाइरहेको छ।
फिल्मले विश्वव्यापी रूपमा पहिलो दिन १०६ करोड भारु कमाएको थियो भने दोस्रो दिन ११३ करोड ६० लाख भारू र तेस्रो दिन ११२ करोड कमाएको छ।
भारतीय बजार विश्लेषक रमेश बालाका अनुसार फिल्मले ४ दिनमा विश्वभरबाट चार सय करोड भारू कमाएको छ। योसँगै पठानले ४ दिनमै ४ सय करोड भारू कमाउने नयाँ रेकर्ड राखेको हो।
भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार चाथो दिनमा पठानको हिन्दी संस्करण दुई सय करोड क्लबमा समावेश भएको छ। दुई सय करोड क्लबमा समावेश भएसँगै यसले 'केजिएफ २' र 'बाहुबली २' को रेकर्ड तोडेको छ।
'केजिएफ २' को हिन्दी संस्करण ५ दिनमा दुई सय करोडमा समावेश भएको थियो भने 'बाहुबली २' को हिन्दी संस्करण ६ दिनमा दुई सय करोड क्लबमा समावेश भएको थियो।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
पठानमा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।