बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड कमाइरहेको छ।
पठानले पहिलो दिनमै विश्वभरबाट १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो।
भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ५ दिनमा विश्वव्यापी रूपमा पाँच सय ४२ करोड भारू कमाएको छ। फिल्मले भारतीय बक्स अफिसमा तीन सय ३५ करोड कमाएको हो भने अन्य देशबाट दुई सय ७ करोड भारू कमाएको हो।
फिल्मको सफलतालाई मध्यनजर गर्दै ‘पठान २’ को घोषणा गरिएको छ। सोमबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा शाहरूखले फिल्मको घोषणा गरेका हुन्।
‘पठानको सफलतापछि मेरो परिवार निकै खुशी छन्। यदि यस फिल्मको सिक्वेल बन्यो भने म निकै मेहनत गर्छु। पठान २ मा कपाल अझै लामो बनाउँछु,’ उनले भने।
उक्त सम्मेलनमा शाहरूख, दीपिका, जोन अब्राहम र निर्देशक सिद्धार्थ आनन्द उपस्थित थिए। यो पठानको पहिलो पत्रकार सम्मेलन हो।
निर्माण टिमले प्रदर्शन हुनुअघि पनि फिल्मको प्रमोशन गरेका थिएनन्।
शाहरूखले फिल्मको व्यापारभन्दा पनि दर्शकको माया नै ठूलो उपहार भएको बताए।
‘मलाई फिल्म हिट भएन भने पनि दर्शकले उत्तिकै माया दिन्छन्। मलाई घरका ठूला व्यक्तिले भनेका थिए, दुःखी भयौ भने आफूलाई माया गर्ने मान्छेको नजिक जाऊ। केही काम चलेन या जिन्दगीमा केही नराम्रो भइरहेको छ भने यसो गर भन्दै उपदेश दिने मान्छेको नजिक नजाऊ। म निकै भाग्यमानी छु कि मसँग लाखौं करोडौं माया गर्ने मान्छे छन्। जब म दुखी हुन्छु, म बार्दलीमा आउँछु, जब म खुशी हुन्छु त्यतिबेला पनि बार्दलीमा आउँछु,’ उनले भने।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।